|
Photo : goal.com

काठमाडौं : लियोनल मेसीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले सहरी प्रतिद्वन्द्वी इस्पानियोलविरुद्ध शानदार जित दर्ता गरेको छ। स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना ५-० गोल अन्तरले विजयी भयो।

२६औं मिनेटमा टिमलाई प्रारम्भिक अग्रता दिलाएका मेसीले त्यसको ९ मिनेटपछि दोस्रो गोल गरे। ६७औं मिनेटमा मेसीले ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले ३-० को अग्रता लियो। ८७औं मिनेटमा गेरार्ड पिकेले हेडमार्फत बललाई जाली चुमाउँदा इन्जुरी समयमा लुइस सुआरेजले टिमका लागि पाँचौं गोल गरे। सुआरेजको गोलमा डेब्यु म्यान उस्मने डेम्बेलेले पास उपलब्ध गराएका थिए।

नेयमार पिएसजी गएपछि उनलाई प्रतिस्थापन गर्न बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट डेम्बेलेलाई भित्र्याएको हो। ६८औं मिनेटमा मैदान प्रवेश गरेका डेम्बेलेले नेयमारले लगाउँदै आएको ११ नम्बर जर्सी लगाएका थिए।

प्रतियोगिताअन्तर्गत शनिबार नै भएको अर्को खेलमा साविकको लिग च्याम्पियन रियल मड्रिड लेभान्तेसँग आफ्नै घरेलु मैदानमा १-१ को बराबरीमा रोकियो। ला लिगामा रियलको यो लगातार दोस्रो बराबरी हो।

१२औं मिनेटमा इभी लोपेजको गोलबाट पछि परेको रियलले ३६औं मिनेटमा लुकास भाक्वेजको गोलबाट खेल बराबरीमा ल्याएको थियो। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो। इन्जुरी समयमा मार्सेलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपिछ अन्तिम केही मिनेट रियल १० खेलाडीमा सिमित बनेको थियो।

यस्तै अर्को खेलमा भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दा सेभियाले इबरलाई ३-० ले पराजित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.