|

बाँके: बाँकेको नेपालगंजमा आइतबार ठूलो संख्यामा मानिसहरू उपस्थित भई विरोध प्रदर्शन गरेका छान्। वर्मामा रोहिंग्या मुसलमानहरूमाथि भइरहेको नरसंहारको विरोधमा बाँकेका नागरिकहरूले प्रदर्शन गरेका हुन्।

स्थानीय जामे मस्जिद र इस्लामी संघ भेरी जोनको नेतृत्वमा भएको विरोध प्रदर्शन वीपी चोकदेखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै इस्लामी संघका प्रमुख मौलाना उबेदुर रहमान खानले रोहिंग्या मुसलमानहरूमाथि भइरहेको अत्याचारलाई रोक्न सबैले दवाब दिनु जरुरी रहेको जिकिर गरे। उनले ह्युमन राइट्स वाच नामक मानवअधिकारवादी संस्थाले गत साता जारी गरेको स्याटेलाइट इमेजमा मुस्लिम क्षेत्रका धेरै भवनमा क्षति पुर्‍याइएको र मानिसहरूलाई जिउँदै जलाइएको देखिएको बताए। तर सरकारले रोहिंग्या विद्रोही आफैँले यी गाउँहरू जलाएको बताएको उल्लेख गर्दै मानव अधिकारवादीहरूलाई सक्रिय भएर उक्त क्षेत्रमा भइरहेको नरसंहारलाई रोक्न र वास्तविक कुरालाई सार्वजानिक गर्न माग गरेे। 

नेपालगंजमा भएको प्रदर्शनमा पूर्व श्रममन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारले समेत यो घटनालाई चासोका साथ लिएर सम्बन्धित सरकारलाई दवाब दिन जरुरी रहेको बताए। यस्तै मुस्लिम अगुवा मेराज अहमद हिमालले वर्माका मुस्लिमहरूमाथि भइरहेको अत्याचारको नेपाली मुस्लिमले कडा रूपमा विरोध गरेको जिकिर गर्दै तत्काल नसंहार रोक्न माग गरे। 

नेपाल इक्रा एजुकेशन फाउण्डेशनका केन्द्रीय अध्यक्ष अब्दुल कबिले वर्मामा लाखौँ रोहिंग्या मुस्लिमहरूको हत्या भइसकेको बताउँदै संयुक्त राष्ट्रसंघले तत्काल शान्ति सेना पठाउन जरुरी रहेको जिकिर गरे।

रोहिंग्या म्यान्मार वा वर्मामा बस्ने अल्पसंख्यक समूह हो। वर्मामा दश लाखभन्दा बढी रोहिंग्या रहेको अनुमान गरिन्छ र उनीहरू देशको उत्तरी भाग राखिने राज्यमा बस्छन्। उक्त क्षेत्र भारत र बंगलादेशको सिमानामा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.