|

काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन तेस्रोपटक सर्ने देखिएको छ। लामो समयदेखि हुन नसकेको संघको महाधिवेशन गर्ने माग बारम्बार आइरहे पनि मिति तोकिसक्दासमेत विभिन्न कारणले सर्दै आएको छ।

यसैक्रममा पछिल्लो समय २०७४ असोज २२ देखि २४ गतेसम्म काठमाडौंमा गर्ने भनेर मिति तय गरिएको नवौं महाधिवेशन सर्ने संकेत देखिएको छ। महाधिवेशनका लागि भदौ १६ गते काठमाडौंमा बोलाइएको केन्द्रीय समितिको बैठक अचानक स्थगित भएको छ।

संघका अध्यक्ष राजीव पहारीले एक्कासि बैठक स्थगित गरेपछि संघको नेतृत्व विभाजितसमेत बनेको छ। प्रदेश नम्बर २ मा असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको कारण देखाएर संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले बैठक स्थगित भएको घोषणा गरेका थिए।  

प्रत्येक ३/३ वर्षमा हुनुपर्ने महाधिवेशन २०६९ सालयता हुन सकेको छैन। यसअघि २०७३ माघ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले २०७४ वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेपछि युवा संघले महाधिवेशन स्थगित गरेको थियो।

२०६९ फागुन ११ देखि १५ गतेसम्म बुटबलमा भएको आठौं महाधिवेशनबाट पनि बस्नेत अध्यक्षमा चयन भएका थिए। त्यसयता संघको महाधिवेशन भएको छैन। तर, बस्नेतपछि निरु पाल र राजीव पहारी अध्यक्ष भइसकेका छन्। बस्नेत २०७१ सालमा उद्योग मन्त्री भएपछि उपाध्यक्ष निरु पाललाई अध्यक्षको जिम्मेवारी दिइयो। तर निरु पाललाई माधव नेपाल पक्षले स्वीकार नगरेपछि लामो समयसम्म समानान्तर गतिविधिहरु भए।

२०७२ कात्तिकमा युवा संघका इञ्चार्ज शेरधन राईको पहलमा बसेको केन्द्रीय समितिको बैठकमा निरुले राजीनामा दिइन्। त्यसपछि २०७२ को कात्तिकमा नै उपाध्यक्ष राजीव पहारीको संयोजकत्वमा युवा संघ पुनर्गठन गरियो। पहारीले नेतृत्व लिएपछि पनि संघभित्र विवाद यथावत नै रह्यो भने महाधिवेशनको मिति पनि तोकियो।

पछिल्लो समय हेटौंडामा तोकिएको युवा संघको नवै महाधिवेशन पनि विवाद मुक्त हुन सकेन। ०७३ माघको बैठकले वैशाखमा हेटौंडामा महाधिवेशन तोकेको केही दिन नै पारेर माधव नेपाल पक्षले पनि चितवनमा महाधिवेशनको घोषणा गर्‍यो।

महाधिवेशन माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र

भदौ १६ गतेका लागि बोलाइएको बैठक स्थगीत गरेपछि युवा संघको बहुमत सदस्यहरुले हस्ताक्षर स‌ंकलन गरी पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ। बैठक स्थगित भएपछि छुट्टै भेला भरी हस्ताक्षर संकलन गरिएको संघका एक सदस्यले बताए।

‘महाधिवेशन नभएको लामो समय भयो। यसबीचमा तोकिएका महाधिवेशन पनि कहिले निर्वाचन त कहिले के बहानामा सारिएका छन्, उनले भने, 'यसपालि बैठक बोलाइसकेपछि सुरु नै नभइकन अध्यक्षले एक्कासि स्थगित गरिएको छ। यो महाधिवेशन नगर्ने उद्देश्य देखिन्छ।'

२ नम्बर प्रदेशमा हुन गइरहेको निर्वाचनका लागि भनिए पनि बैठक सुरु गरेर निर्वाचनकै एजेन्‍डामा मात्र भए पनि बैठक बस्नुपर्ने उनीहरुको माग छ। संघका अध्यक्ष राजीव पहारीले अन्तिममा आएर स्थगित गरेपछि धेरैलाई मान्य नभएको ती सदस्य बताउँछन्।

१ सय ७६ केन्द्रीय समितिमध्ये १ सय १५ जनाको हस्ताक्षर पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभागप्रमुख पृथ्वी सुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख गोकर्ण विष्ट, इञ्चार्ज महेन्द्र पाण्डे, सह-इञ्चार्ज निरु पाललाई बुझाइएको छ। उमेर हद भएको संगठनको ५ वर्षसम्म महाधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरण नभएको, युवा आन्दोलन कमजोर भएको उनीहरुको भनाइ छ।

बैठक स्थगितको सूचना अध्यक्षले जानकारी गराउनुको साटो गलत प्रक्रियाबाट इञ्चार्जलाई भन्न लगाएको र बहुमत सदस्यले हस्ताक्षर गरेर महाधिवेशनको माग गरेकाले महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उनीहरुको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.