|

धनकुटा : पूर्वी पहाडको प्रतिष्ठित फुटबल प्रतियोगिता शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। मंगलबार सुरु हुने प्रतियोगिताको १३ औं संस्करण धनकुटाको तल्लो टुँडिखेलमा चार दिनसम्म चल्ने आयोजकले जनाएको छ। 

प्रतियोगितामा ‘ए’ डिभिजन टिम ब्वाइज युनियन क्लब काठमाडौं, ‘ए’ डिभिजन टिमका खेलाडी रहेको बिर्ता युथ क्लब झापा, बेलबारी युवा क्लब मोरङ, गोधुली क्लब सुनसरी, आयोजक धनकुटा ११ र गत वर्षको गोल्डकप विजेता भुटानको फ्यान्स क्लब बीआरसी गरी ६ टिम सहभागी हुने आयोजक समितिका सचिव रोशन श्रेष्ठले जानकारी दिए। 

मंगलबार हुने उद्घाटन खेलमा आयोजक धनकुटा ११ र मोरङको बेलबारी क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र गोल्डकप तथा उपविजेता टिमले ५० हजार रुपैयाँ हात पार्नेछन्। प्रतियोगिता सञ्चालनका लागि १० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। 

नेपाली कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापित प्रतियोगिता २०६३ देखि नियमित रूममा हुँदै अाएको छ। टुँडिखेल मर्मत सम्भार लगायतका प्राविधिक कारणले अघिल्लो वर्षको प्रतियोगिता रोकिएको थियो। अबको आठ महिनापछि नै १४ औं संस्करण हुने आयोजकले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.