|
फोटा : प्रकाश पार्की

डडेल्धुराः सुुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ का सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका– ५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ।

समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ। 

बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ। पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना  कुमाउ गढवालसम्म पुगेको थियो।

एकीकरणको अभियानका बेला वि. सं. १८४७ भदौ ३१ गते सेती नदीको नारिदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए।

तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँगडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए। त्यसैले यो ‘अमरगढी किल्ला’को रूपमा परिचित छ। 

वि. सं. १८४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो। काँगडा र कुमाउँको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ। 

बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ। किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ। 

अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्त्व पनि झल्काउँछ।

नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउँ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको स्थानीय ६५ वर्षका उमा श्रेष्ठले बताइन्। समय बित्दै जाँदा पछि वि. सं २०२० तिर यो किल्लामा गोरख दल बसेर हेरचाह गर्ने गरेको समेत उनले बताइन्।

कहाँ गए अमरगढी किल्लाका पुराना हातहतियार?
स्थानीयका अनुसार सुदूरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको डडेल्धुरा सदरमुकामस्थित अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार अहिले किल्लामा छैनन्। 

बडाकाजी अमरसिंह थापाले वि. सं. १८४७ मा स्थापना गरेको अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार भेटिँदैनन्। 

आफूहरूले तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका ऐतिहासिक हतियार देखेको तर पछि ती हतीयारहरू गायव भएको स्थानीय बताउँछन्। ‘पहिले सानो छँदा किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतियार देखेको थिएँ’, स्थानीय गणेशबहादुर मगरले भने, ‘तर अहिले ती हतियारहरू देखिँदैनन्।’

हतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासीनता जिम्मेवार रहेको आरोप स्थानीयको छ। सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार बेपत्ता भएकाले किल्लाको महत्त्व घटेको स्थानीयको भनाइ छ। नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरूको भनाइ छ। 

नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म अस्तित्वमा रहेको पुरातत्त्व विभागले जनाएको छ। डडेल्धुराको सदरमुकाममा रहेको ऐतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालालगायतका ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्त्वसमेत घटेको छ।

युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दशैँको फूलपातीको दिनमा किल्लामा रहेका राजा तथा रानी तोप लगेर टँुडिखेलमा पड्काउने गरेको स्थानीय उमा श्रेष्ठले बताइन्। 

‘त्यसबेला किल्लामा गोर्खादल नामका तत्कालीन शाही सेना बस्ने गरेका थिएँ’, उनले भनिन्, ‘पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदा सँगै लिएर गए।’ त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार नल्याएको समेत श्रेष्ठको भनाइ छ।

किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, सयजति बन्दुक, किल्लाभित्र नै बम, गोला, बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री रहेको तर अहिले किल्ला हेर्न आउने पर्यटकले ती कुनै पनि हतियार देख्न पाउँदैनन्।

अमरगढी किल्ला पर्यटकीय गन्तव्य 

सदरमुकाममा रहेको अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। युद्धकालपश्चात नगरपालिकाले निर्णय गरी उक्त किल्ला सर्वसाधारणका लागि खुला गरेको छ। 

ऐतिहासिक गौरव बोकेको उक्त किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रूपमा रहेको छ। अमरगढी किल्लाको ऐतिहासिक र धार्मिक रूपमा छुट्टै महत्त्व रहेको छ। डडेल्धुरा घुम्न आउने पर्यटकको पहिलो रोजाई उक्त किल्ला नै बन्ने गरेको किल्ला अवलोकन गर्न आएका पर्यटकहरू बताउँछन्।

काठमाडौँबाट डडेल्धुरा घुम्न आएकी जुलियाना श्रेष्ठले भनिन्, ‘स्कुलमा पढ्ने बेला यो किल्लाको बारेमा पढेको थिएँ। त्यही भएर यता घुम्न आएँ।’ तर किताबमा पढेजस्तो हातहतियार यता नदेखेको उनले बताइन्। उनले थपिन्, ‘तर पनि किल्ला घुम्दा रमाइलो नै लाग्यो।’

किल्ला हेर्न आउने सर्वसाधारणबाट ५० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ। 

किल्लाबाहेक उग्रतारा मन्दिर, घटालथान, अजयमेरुकोटलगायतका क्षेत्रको प्रवद्र्धन गर्न सके पर्यटकलाई थप अकर्षित गर्न सकिने देखिन्छ। अमरगढी किल्ला सुरक्षार्थ नेपाली सेना खटिँदै आएको भए पनि अहिले सशस्त्र प्रहरी बलले किल्लाको सुरक्षा गर्दै आएको छ।

किल्लालाई थप व्यवस्थित गर्न नसकेका कारण यहाँ आउने पर्यटकको संख्याका कमी आएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरु बताउँछन्।

किल्ला जीर्ण बन्दै

किल्ला पछिल्लो समयमा संरक्षणको अभावले जीर्ण बन्दै गएको छ। डडेल्धुराको अमरगढी नगरपालिका यसै अमरगढी किल्लाको नामबाट ०५४ सालमा स्थापना भएको थियो। नगरपालिका स्थापनापश्चात् ०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मातहतमा लिएको थियो। 

तर, २०५८ सालमा तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो। 

०५८ सालदेखि ०६६ सालसम्म किल्ला सेनाको मातहतमै थियो। स्थानीयको पटक–पकटको प्रयासपछि ०६६ पुसदेखि पुनः किल्लालाई अमरगढी नगरपालिकालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो। 

त्यसपछि पनि किल्लामा निर्धक्क साथ पर्यटक जाने वातावरण भने निर्माण हुन नसक्दा पर्यटकको संख्या अत्यन्त न्यून रहेको थियो। पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने ०६९ सालबाट मात्रै स्वीकृति दिइएको हो।

किल्लाको मर्मत सम्भारका लागि बजेट विनियोजन भए तापनि पुरातत्त्व विभागले खासै चासो नदिएकाले र मर्मत गर्दा सिमेन्ट प्रयोग भएकाले पुरानो संरचना बिग्रिएको छ। पुरानो गुफा भत्किने अवस्थामा छ भने बडाकाजीले बस्ने घर भत्किएर त्यसलाई सम्वद्र्धन नगरी त्यसमा जस्ताको नयाँ छाप्रो बनाइएको छ।

किल्लाबारे के भन्छन् स्थानीय?

किल्लाको प्रचार प्रसार तथा ऐतिहासिक हातहतियार तथा तत्कालीन सैनिकका पोसाक किल्लामा राख्नु जरुरी रहेको स्थानीय नरेशबहादुर थापाको भनाइ छ।

‘ती पुराना हातहतियार कहाँ छन्? कसैलाई थाहा छैन’, थापा भन्छन्, ‘यसमा पुरातत्त्व विभाग तथा स्थानीय सरकारले चासो देखाउनुपर्छ।’ किल्ला हेर्नका लागि स्थानीय विद्यालयबाहेक अरू कोही नआउने गरेको उनी बताउँछन्। यस किल्लालाई संरक्षण गरेर सबै ठाउँमा प्रचार प्रसार गरे बाह्य पर्यटकहरू भित्र्याउन सकिने उनको भनाइ छ।

‘सात पहाडी जिल्लाको केन्द्रबिन्दु डडेल्धुरामा रहेको अमरगढी किल्ला ७ नम्बर प्रदेशकै पर्यटकीय गन्तव्य हो’, स्थानीय पर्यटनकर्मी गणेश थापा मगरले भने, ‘नेपालमा अगरगढी जस्ता जीवित किल्लाहरू अहिले पाइँदैन। यो किल्लाको लामो इतिहास छ।’ उनले किल्लाको विकासका लागि पुरातत्त्व विभाग र स्थानीय प्रशासनले ध्यान दिनुपर्ने बताए।

किल्ला अवलोकन गर्न आउने पर्यटकको संख्या न्यून

किल्ला अवलोकन गर्ने पर्यटकका लागि किल्लामा खासै अवलोकन गर्ने वस्तु नहुँदा अवलोकन गर्ने पर्यटकको संख्या न्यून रहेको स्थानीय बताउँछन्। 

सुदूरपश्चिमकै ऐतिहासिक तथा मुख्य पर्यटकीय स्थल अमरगढी किल्लामा रहेको भए पनि नगरपालिका तथा पर्यटन विकास बोर्डले खासै चासो नदेखाएका कारण यसको प्रचार प्रसारमा हुन नसकेको स्थानीले आरोप लगाएका छन्। 

के भन्छन् अमरगढीका जनप्रतिनिधि?

आफूले अमरगढी किल्लाको अनुगमन गर्दा भत्किने अवस्थामा रहेको पाएको अमरगढी नगरपालिका उपप्रमुख संगीताकुमारी भण्डारीले बताइन्। ‘किल्लाको संरक्षणका लागि पुरातत्त्व विभागसँग समन्वय गर्ने आयोजना छ’, उनले भनिन्, ‘अमरगढी क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण गर्न नगरपालिका तयार छ।’
किल्लाभित्र पुराना हातहतियार थिए भन्ने कुरा आफूलाई जानकारी भएको र त्यसका बारेमा पनि खोजतलास गर्ने उपप्रमुख भण्डारीले बताइन्।

वर्षाको समयमा किल्लाभित्र जान डर लाग्ने अवस्था रहेको उनी बताउँछिन्। पुरातत्त्व विभाग र अन्य निकायहरूसँग समन्वय गरेर किल्लाको संरक्षण गर्नमा नगरपालिका प्रतिबद्ध रहेको उनले बताइन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • एकिकरण अभियान १ ८४७ हो र सोही समयमा डोटीको नारीदाङ्गमा गोर्खाली सेना र डोटेली सेनाको युद्ध भएको हो तर त्यहाँ १९४७ लेखिएको छ ! यसलाई सच्याउन अनुरोध छ । हिम बहादुर विश्वकर्मा अछाम ।