|
फोटाहरू सौजन्य : सुवर्ण विष्ट

विराटनगरः पहिलो पटक नेपालमा आयोजना गरिएको ‘नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लाबारीका गायक निशान भट्टराईलाई गृहनगरमा भव्य स्वागत गरिएको छ। 

मंगलबार गृहनगर आइपुगेका निशानलाई हजारौँ समर्थकहरूले भव्य स्वागत गरेका हुन्। ‘निशान भट्टराई जिताऔँ अभियान’ले उर्लाबारी चोकमा आयोजना गरेको स्वागत कार्यक्रममा निशानले गीत प्रस्तुत गर्दै भोट मागेका छन्। पूर्वबाट नेपाल आइडल बनाउन आह्वान गर्दै उनले आफूलाई जतिसक्दो बढी भोट गरी जिताउन अपिल गरेका छन्। 

गृहनगरमा आउँदा आफूले अत्यधिक माया र सम्मान पाएको बताउँदै उनले सबैलाई धन्यवाद दिए। आफूलाई नेपाल आइडल बनाउन अपिल गर्दै उनले आफ्नो खुसी उर्लाबारीवासी माझ बाँडेका थिए। उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले निशानलाई स्वागत गर्दै नगरवासीहरूलाई भोटका लागि आह्वान गरे। 

नेपाल आइडलका नाममा सामाजिक सञ्जालमा फेक आईडी बनाएर जातीय सद्भाव भड्काउने काम भइरहेको भन्दै त्यसप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्। त्यस्तै, अभियानका संयोजक चन्द्रबहादुर भट्टराई (भरत)ले निशान प्रतिभाशाली गायक भएकाले सबै एकजुट भएर भोट गर्नुपर्नेमा जोड दिए। 

निशानले मंगलबारै विराटनगर, इटहरी, खोेर्साने, पथरी, उर्लाबारी– ३ मंगलबारे र उर्लाबारी– ४ आइतबारेमा पनि  हजारौँ संख्यामा समर्थक तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका छन्। उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेत पुगेका थिए। युवापुस्तामा निशानको ‘क्रेज’ निकै देखिएको थियो। 

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले पनि निशान पूर्वका शान भएकाले सबैले एकजुट भएर भोट गरी जिताउनुपर्ने बताएका छन्। उनले महानगरवासीहरूलाई निशानका लागि भोटको आह्वान गर्दै आफ्नोतर्फबाट पनि भोट गर्ने प्रतिबद्धता जनाएका छन्। निशानले विराटनगरमा बाढीपीडित विद्यार्थीहरूलाई शैक्षिक साम्रगीसमेत वितरण गरेका छन्। 

त्यस्तै, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पनि निशानलाई जिताउन आह्वान गरेका छन्। इटहरीमा निशानले हजारौँ दर्शकको सहभागितामा आफ्नो प्रस्तुति दिनुका साथै भोट मागेका थिए। दर्शकहरूको क्रेजलाई थाम्न नसकेर निशानलाई प्रहरी कार्यालय पुर्‍याइएको थियो। प्रहरीको सहयोगमा उनलाई गाडीमा हालेर उर्लाबारीतर्फ ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.