|

काठमाडौं : महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले सामाजिक कुरिति र महिला माथिका अपराध न्यूनीकरणका लागि सचेत धक्का आवश्यक रहेको बताएकी छिन्।

मंगलबार मन्त्रालयमा आयोजित महिला, बालबालिका तथा सामाजिक सरोकारका विषयमा कलम चलाउने बिट रिपोर्टर र सञ्चारकर्मी महिलासँगको छलफल कार्यक्रममा मन्त्री कोइरालाले कुरितीको अन्त्य र महिला माथिका अपराधलाई नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टिम (र्यापिड,रेस्पोन्स र एक्सन टिम)गठन गर्नुपर्ने धारणा राखिन्। 

यसका लागि मन्त्रालयले आवश्यक योजना बनाइरहेको र निकट भविष्यमै सबै स्थानीय तहमा तत्काल उद्धार कार्यका लागि कर्मचारी, वकिल, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र नागरिक समाज रहेको एउटा टिम निर्माण गर्ने उनले बताइन्।

मन्त्री कोइरालाले कुनैपनि घटना घटेको २४ घन्टाभित्रै पीडितको उद्ध्दार गरी संभावित घटना रोक्नका लागि तत्काल उद्धार टिम गठन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

मन्त्री कोइरालाले सातवटै प्रदेशमा पुनस्थापनाका लागि ल्याइएका महिला, बालबालिका, अपांग तथा अन्य ज्येष्ठ नागरिकलाई राख्न मिल्ने गरी बहुआयामिक पुनस्र्थापना केन्द्र स्थापनाका लागि आफुले पहल गरिरहेको जानकारी गराइन्। 

उनले समाजमा व्याप्त बोक्सी, छाउपडी, दाइजो र तिलक जस्ता कुरितीजन्य प्रथाको अन्त्यका लागि सचेत धक्का आवश्यक रहेको बताइन्। स्थानीय तहमा निर्वाचत भएका जनप्रतिनिधि (प्रमुख, उपप्रमुख तथा सदस्य) महिलालाई मन्त्रालयले छुट्टै प्रशिक्षण दिने मन्त्री कोइरालाले बताइन्।

सातवटै प्रदेशबाट स्थानीय तहमा निर्वा्चित भएर आएका महिला प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित अन्य सदस्यहरूको क्षमता अभिवृद्धि गर्न र कार्यकुशलतालाई टेवा पुर्‍‍याउन विशेष प्रशिक्षण दिने मन्त्री कोइरालाको भनाइ छ। 

‘उसो त सरकारले स्थानीय तहको निर्वाचनमा निर्वा्चित भएर आएका जनप्रतिनिधिहरूलाई तालिम दिएको छ। तर हाम्रो मन्त्रालयले स्थानीय तहको निर्वाचनमा निर्वा्चित भएर आएका महिला प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष र अन्य सदस्यहरूलाई उनीहरूको क्षमताको विकासमा सहयोग होस् भनेर दुई  चरणमा छुट्टै तालिम दिने योजना छ,’ उनले भनिन्। 

उनले स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा सुधारका लागि मन्त्रालयले काम अघि बढाइरहेको जानकारी गराइन्। कार्यक्रममा मन्त्रालयका सहसचिव महेन्द्र बहादुर थापाले योजना निर्माण, कार्यान्वयन र विशेष प्रभावकारिताका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने धारणा राखे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.