|

बाँके :  रोहिंग्या मुस्लिममाथि भएको दमनको विरोधमा बाँकेका मुस्लिम समुदायले निकालेको र्‍यालीको सुरक्षामा ठूलो संख्यामा प्रहरी परिचालन भइरहँदा प्रहरीकै अर्को टोली नेपालगन्ज एयरपोर्टमा थियो।

मुस्लिम समुदायले निकालेको विरोध र्‍यालीका क्रममा अप्रिय घटना हुन सक्ने खतरालाई मध्यनजर गरी ठूलो परिमाणमा प्रहरी परिचालन भएकै बेला भीआईपी (राज्यका विशिष्ट व्यक्ति) को सुरक्षा गस्ती (स्कर्टिङ) का लागि प्रहरी नेपालगन्ज एयरपोर्टमा खटिएको थियो। दैनिक कम्तीमा २० जना प्रहरी भीआईपीको सुरक्षामा खटिने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ बताउँछन्।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्लामा जाने भीआईपीहरु नेपालगञ्ज एयरपोर्टको बाटो प्रयोग गर्छन्। त्यसैले बाँके बाहेक अन्य जिल्लामा जाने भीआईपीको सुरक्षामा बाँकेमा प्रहरीले ठूलो स्रोत साधन खर्च गर्नुपरेको छ।

प्रहरीको एउटा टोली हरेक दिन एयरपोर्ट पुग्नै पर्ने हुन्छ। मन्त्री लगायत अन्य भीआईपीको स्कर्टिङका लागि। कहिलेकाहीँ त ३–४ पटक एयरपोर्ट पुग्नुपर्ने हुन्छ। मध्य तथा सुदूरपश्चिमका जिल्लामा जानका लागि नेपालगन्ज एयरपोर्ट भएर आउने गरेका कारण बाँकेमा प्रहरीलाई भीआईपीको स्कर्टिङमा खटिनुपर्ने भएको छ। हरेक दिन २–३ जना भीआईपी नेपालगन्जमा आउने बाँकेका प्रहरी प्रमुख तामाङ बताउँछन्। ‘कुनै दिन ४–५ जना भीआईपी नेपालगन्जमा हुन्छन्,’ आवश्यकता अनुसार सबैको सुरक्षामा नेपाल प्रहरी खटिनुपर्ने हुन्छ,’ उनले भने।

अर्को जिल्लाको सीमानासम्म भीआईपीको सुरक्षा

उनले मन्त्री लगायत भीआईपीको सुरक्षाका लागि एउटा टोली सतर्क अवस्थामा रहने गरेको बताए। ‘कतिखेर कुन भीआईपी आउनुहुन्छ कुनै निश्चित हुँदैन, जतिबेला पनि आउन सक्ने भएकोले एउटा टोली तयारी अवस्थामा रहन्छ,’ एसपी तामाङले भने।

प्रहरीले सूचना र जानकारी पाउनासाथ स्कर्टिङका लागि एयरपोर्ट पुगेर भीआईपीलाई कार्यक्रम स्थल र होटलमा पुर्‍याउने गर्छ। अन्य जिल्ला जाने भीआईपीलाई जिल्लाको सीमानासम्म सुरक्षा दिएर अर्को जिल्लाका प्रहरीलाई जिम्मा लगाउने गर्छ। प्रहरीको टोली महिनामा कम्तीमा ६० पटक एयरपोर्ट पुग्ने गरेको छ।

भीआईपीको ल्याण्डक्रुजर, प्रहरीको टाटा गाडी

सुरक्षा सिद्धान्त अनुसार भीआईपीको सुरक्षाका लागि प्रयोग हुने गाडी तिब्र गतिमा गुड्नुपर्ने बाँके प्रहरी प्रमुख तामाङ बताउँछन्। 'सुरक्षामा खटिने गाडी सुस्त गतिमा दौडिए अप्रिय घटना हुन सक्ने खतरा हुन्छ, भौतिक सुरक्षामात्र नभई एक्सीडेन्ट पनि हुन सक्छ,’ उनले भने ।

तर, प्रहरीसँग भएका गाडी पुराना र थोत्रा भइसकेका छन्। जसका कारण भीआईपीको सुरक्षा गस्ती (स्कर्टिङ) गर्न हम्मे–हम्मे परेको छ। ‘भीआईपी चढ्ने ल्याण्डक्रुजर हुन्छ, प्रहरीको टाटा गाडी भएकोले सँगसँगै जान धौधौ हुन्छ,’ उनले भने।

बाँकेमा प्रहरीसँग स्कर्टिङ गर्ने एउटामात्र गाडी छ। धेरै जना भीआईपीको एकैसाथ स्कर्टिङ गर्नु परे वडा प्रहरी कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको गाडी माग्नुपर्छ। ‘गस्तीमा गएको गाडीलाई झिकाएर भीआईपीको सुरक्षामा खटाउनुपर्ने अवस्था छ,’ तामाङले भने।     

बाँकेमा ९ सय ५ जना प्रहरीले ५ लाख बढि नागरिकलाई सुरक्षा प्रदान गर्दै आएका छन् । एक जना प्रहरीले ५ सय ५३ जना नागरिकलाई सुरक्षा दिइरहेका छन्। यहाँ ६ वटा ‘क’ श्रेणीका, ख र ग श्रेणीका ८, १८ प्रहरी चौकी र अस्पताल लगायत गरी १४ वटा प्रहरी पोष्ट रहेका छन्।

‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि कोहलपुरमा डीएसपी, वडा प्रहरी कार्यालय नेपालगन्ज, भोजभगवानपुर र इप्रका धनौलीमा प्रहरी निरीक्षक खटिएका छन् भने अन्य ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक प्रमुख छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.