|

जनकपुरधाम : प्रदेश नम्बर २ का ८ जिल्लामा अहिले चुनाव प्रचार प्रसार र निर्वाचनको तयारीमा राजनीतिक दलहरु निकै सक्रिय छन्।  दुई वर्षअघि छ महिना भन्दा बढी समय बन्दको मार खेपेका मधेसका बजार तथा गाउँका वासिन्दा अहिले आफ्नो जनप्रतिनिधि चयन गर्न आतुर छन्।

प्रदेश नम्बर २ को राजधानी दावी गरिरहेको धनुषाको जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरु पनि जित हात पार्ने योजनासहित चुनाव प्रचार प्रसारमा व्यस्त छन्।

जनकपुरलाई आधार बनाएर राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक पार्टी सहितका दलहरुले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन्।

नेकपा एमालेका नेता माधवकुमार नेपाल, योगेश भट्टराई, शंकर पोखरेल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल लगायतका नेताहरु चुनाव प्रचार प्रसारका लागि जनकपुर आइसकेका छन्। त्यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रदीप गिरिसहितका नेताहरु पनि एक महिनाअघि नै जनकपुर आएका थिए।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेपालका राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो सहितका नेताहरु जनकपुरलाई केन्द्रविन्दु बनाएर चुनावी अभियानमा सक्रिय छन्।

मंगलबार जनकपुर आइपुगेका राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाबाट नगर प्रमुखका उम्मेदवार लालकिशोर साहको मत माग्दै केहीबेर साइकल यात्रा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.