शिक्षण अस्पतालले अझै सुरु गरेन नि:शुल्क प्रत्यारोपण

|

काठमाडौ : सरकारले वैशाख १ गतेदेखि सुरु गरेको नि:शुल्क मिर्गौला प्रत्यारोपण कार्यक्रमबाट अहिलेसम्म ७५ जना लाभान्वित भएका छन्। आर्थिक अवस्था कमजोर भएका, महिला र लामो समयदेखि मिर्गौला रोगबाट पीडितको नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्ने सरकारी योजना अनुसार भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रबाट ६६ र वीर अस्पतालबाट ९ जनाले मिर्गौला प्रत्यारोपण गराएका छन्। त्रिवि शिक्षण अस्पतालले भने यो सेवा सञ्चालनमा ल्याइसकेको छैन।

गत वैशाख १ गतेदेखि नै नि:शुल्क मिर्गौला प्रत्यारोपण सुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्रले ११ जना पुरुष र ५५ जना महिलाको मिर्गौला प्रत्यारोपण गरेको छ। अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले हरेक हप्ताको आइतबार, बुधबार र बिहीबार गरी तीन दिन नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्दै आएको जानकारी दिए।

वीरमा  लिए ९ जनाले सेवा

वीर अस्पताल समन्वय शाखा प्रमुख टीकाराम पनेरुले १ महिला र ८ पुरुषले नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा लिएको बताए। 'हालसम्म ९ जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरेका छौं, बेडको अभाव र अन्य विविध कारणले हामीले मिर्गौला प्रत्यारोपण सेवा अझ प्रभाकारी बनाउन सकेका छैनौं' उनले भने। वीर अस्पतालले हाल हप्तामा १ दिन नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्दै आएको छ। 

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले विश्व मिर्गौला दिवशको अवसर पारेर गत वैशाख १ गतेदेखि मिर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने घोषणा गरेका थिए। त्यसका लागि सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ। वीर अस्पताल, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालबाट यो सेवा दिने घोषणा गरिएको थियो।

त्रिवि शिक्षण अस्पतालले भने स्वास्थ्य मन्त्रालयले नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्न पत्र र निर्देशिका नपठाएको बताएको छ। अस्पतालका प्रशासन प्रमुख गोविन्द प्रधानले भने 'मन्त्रालयले नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्नु, गराउनु भन्ने पत्र र निर्देशिका पठाए पछि मात्र हामीले गर्ने हो, तर मन्त्रालयले पत्र र निर्देशिका पठाएको छैन।'

नेपालमा करिब ३० लाख व्यक्ति मिर्गौला रोगबाट पीडित छन्। बर्षेनी करिब तीन हजारको मिर्गौला फेल (बिग्रने) हुने गरेको सरकारी तथ्याङ्क छ। गत वर्ष नेपालमा २ सय २२ जना नेपालीले मिर्गौला प्रत्यारोपण गराएका थिए।

हाल देशभरका २१ अस्पतालका २ सय १ डायलासिस मेसिनबाट मिर्गौला रोगीको नि:शुल्क  डायलासिस हुँदै आएको छ। यसअघि गत कात्तिकमा सरकारले मिर्गौला रोगीले गर्नुपर्ने सम्पूर्ण डायलासिस सेवा नि: शुल्क गरेको थियो।

लामो समयदेखि मिर्गौला फेल भएका, महिला र आर्थिक स्थिति कमजोर भएका बिरामीलाई प्राथमिकताको आधारमा नि:शुल्क  मिर्गौला प्रत्यारोपण गर्ने सरकारी नीति छ। मिर्गौला प्रत्यारोपण गर्दा ४ देखि ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.