|

दाङ : तुलसीपुर उपमहानगरले १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको छ। बाल दिवसको अवसर पारेर उपमहानगरले शैक्षिक सामग्री र परिवारलाई आयआर्जनमा सहयोग गर्ने शर्तमा १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको हो।

घर फर्केका बालबालिकालाई कार्यवाहक नगरप्रमुख माया आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गरिन्। उनले नगर क्षेत्रमा बालश्रम न्यूनीकरण गरी बालमैत्री स्थानीय शासन सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने बताइन्।

उपमहानगरले नगर क्षेत्रमा ७५  बालबालिका श्रममा रहेको पहिचान भएको जनाएको छ। पहिलो चरणमा १५, दोस्रो चरणमा १५र बाँकी ४५ जनालाई चार महिनाभित्र परिवारमा पुन: स्थापना गर्ने तयारी भएको बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए।

पुन: स्थापित बालबालिकाका अभिभावकलाई  उपमहानगरले आयआर्जनमा १६ हजार ५ सय रुपैयाँ सहयोग गर्ने जनाइएको छ। बालबालिकालाई उपमहानगरको निर्देशनअनुसार विद्यालयमा भर्ना गरेपछि मात्रै परिवारलाई आयआर्जनमा सहयोग गर्ने उपमहानगरले जनाएको छ।

पहिलो चरणमा पुन: स्थापना गरिने ९ देखि १५ वर्षसम्मका बालबालिकाहरू होटेल, ग्यारेज, ग्रिल, उद्योग, ईट्टाभट्टा र यातायातका क्षेत्रमा श्रममा संलग्न भएको कार्यक्रममा जानकारी दिइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.