|

जुम्ला : यहाँका स्थानीय युवाहरु ग्याबिन तालिम सिकेर स्वरोजगार बन्नतर्फ आकर्षित हुन थालेका छन्। सीप सिकेर स्वरोजगार बन्न सामुदायिक विकास कार्यक्रम (सिडिपी) जुम्लाले सञ्चालन गरेको १५ दिने तालिममा उनीहरु सहभागी भएका छन्। उनीहरु १९ भदौबाट ग्याविन बुन्ने तालिममा सहभागी भएको सामुदायिक विकास कार्यक्रम जुम्लाका जीविकोपार्जन तथा सुशासन अधिकृत अर्जुन नेपालीले जानकारी दिए।

तालिममा तिला, तातोपानी, पातारासी, गुठिचौर गाउँपालिकाका गरेर प्रत्येक गाउँपालिकाबाट ५ जना युवाहरु छानिएको सुशासन अधिकृत नेपालीले बताए। ‘भदौ १९ गतेदेखि सुरु भएको ग्याविन बुनाई तालिममा २० जना सहभागी भएका छन्, उनीहरु असोज २ गतेसम्म तालिमबाट सीप सिक्नेछन्’ उनले भने। बेरोजगार जनशक्तिलाई सीप सिकाई स्वदेशमै रोजगार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनको भनाइ छ।

जिल्ला समन्वय समिति जुम्लाका क्षेत्रबहादुर बुढाथापाले सीप सिकेर जाँगर नमार्न तालिम लिनेलाई आग्रह गरे। धेरैले धेरै विषयमा सीप सिकेर प्रयोग नल्याएको भन्दै उनले ग्याविन तालिममा सिकेको सिपलाई व्यवहारमा ल्याउन पर्नेमा जोड दिए उनले भने, ‘सिडिपीले स्वदेशमा सीप सिकेर खाउन भनेको छ, त्यसैले आयआर्जका लागि सीप सिक्नुस् र कमाई गरेको धन जाँड रक्सीमा नफाल्नुस्।’

तालिमका तीनजना प्रशिक्षक नेत्रबहादुर डाँगी, टंकप्रसाद चौंलागाई र रामबहादुर भण्डारीले सीप सिकेर मिहिनेत गर्यो भने भोको मर्नुनपर्ने बताए। उनीहरुले भने, हामीले भारतीय नागरिकहरुबाट दैनिक २५ रुपैयाँ ज्याला खाएर सीप सिकेका हौं, अहिले ठिकै भएको छ।

प्रशिक्षक नेत्र भण्डारीले सुरुमा सिक्नका लागि ८ गेजको बोर्डर, चर्खा, हथौडा, पिलास, किला गच्छा लगाउने मेसिन, र काठ चाहिने बताए। उनले आफूहरुले ग्याविन बुन्ने काम पाए एक दिनमा १२ सय देखि १६ सयस रुपैयाँ कमाउने गरेको र विदेश धाउनुनपरेको बताए। तालिमका सिक्दै गरेको युवाहरुले सीप सिकेर आफ्नै ठाउँमा काम गर्ने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.