|

छिद्र मात्र होइन, समस्याका भ्वाङै भ्वाङ पारिएका छन्। भनिन्छ, निराशा रोपेर देश बन्दैन। सदैव आशाको टुकी बाल्नुपर्छ। ठीकै होला तर बेथितिको अग्लो पहाडलाई थितिको समतल भूमि भनी अन्धभक्तको भूमिका निर्वाहले स्वाभावतः बाँदरले आफूले लिस्नो पाएको महसुस गर्छ र दंग पर्छ। जबसम्म यथार्थको टाकुरोमा चढेर समालोचनाको कैँची चलाइँदैन, भविष्यमा आशा र विश्वासमा चल्लाहरू कोरल्न संभव हुँदैन। 

वर्तमानमा कुन मुखले गाऊँ लैबरीको गीत, कसरी बजाऊँ खुसीको बाँसुरी? भएको छ। घरको जिम्मेवारी कुलङ्घारको हातमा परेपछि अलिअलि रहेका खुसीहरू फाट्दारहेछन्। उम्रन लागेका आशा र विश्वासका मुनाहरू निमोठिँदारहेछन्। लाग्छ, विशेषतः राजनीतिक अराजकता, गञ्जागोल, भद्रगोलमा नोबेल पुरस्कार दिने प्रावधान भएको भए हामी सदैव अब्बल ठहरिने थियौँ। तर जेवी टुहुरेले गाएको गीत ‘लाखौँको लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ले आज पनि तारन्तार पछ्याउन छोडेको छैन। 

राष्ट्र बैंकले नागरिकहरूको नाममा एउटा हिसाब–किताब देखायो, २०७४ को असार मसान्तसम्ममा तिमीहरू प्रत्येकको थाप्लोमा २४ हजार २१४ रुपैयाँ ऋण पुगेको छ। २०७३ को यही अवधिमा यो ऋण रकम २१ हजार ६८६ थियो। देशभित्र संभावनाका आशामाथिको आगोमा थप घिउ थपिन थालेपछि घरायशी छानो, मानो, नानो, हाँसो र खुसीका सपना बोकेर पराईभूमिमा नेपालीको ठूलो हिस्साले दुःखको उकाली र ओराली गर्नु दैनिकी र नियमजत्तिकै बन्नपुगेको छ। त्यही रेमिट्यान्सले देशको धुकधुकी धानेको छ। त्यही खाएर आज लोकतन्त्र, गणतन्त्रको नाममा रूपान्तरित जुद्धशमशेरहरू हालिमुहाली गरिरहेका छन्। कर तिर्ने हामी, रेमिट्यान्स पठाउने हामी अनि ऋणको भारी हाम्रो थाप्लोमा! 

शाब्दिक रूपमा हामीले ठूलो खर्च भूकम्पपीडित, बाढीपीडितका नाममा खर्चियौँ तर व्यवहारतः तिनको व्यथा सल्टिएन र सल्टँदैन पनि। हामी जस्ता असत्ति नेतृत्वको जालमा मुलुक जकडिउञ्जेल नातागोतावाद, फरियावाद र गणेशवादको भविष्य होला, बाँकी गोलखाँडी, निश्चित छ।

विडम्बना, विकृति यति फस्टाएको छ कि खसीको मासुको दाममा गह्नाएको कुखुराको मासु किन्छ आयल निगम, शीर्ष राजनीतिक नेतृत्व मुख बाउँदैन।

नागरिकको करमा बह्मलुट हुन्छ, चाल नपाएझैँ गर्छ सरकार। विदेशी कम्पनी हाकाहाकी भन्छ, ‘करका कुरा नगर, तिम्रो भागमा पर्ने दरका कुरा गर!’ बाख्राका खोरको अनुहार नपरेका भौतिक संरचनालाई मेडिकल कलेजको अब्बल दर्जा दिइन्छ। हिजो तीतेपाती र घोडताप्रे माडेर लगाई घाउ निको पार्ने नेतृत्वले आज सरकारी अस्पताललाई दलित बनाएका छन्। बोलीमा समस्या सम्याउन कुनै कसर बाँकी राख्दैनन् तर व्यवहारमा अपवादबाहेक छुनु त परै जावस्, छेउ पनि पर्दैनन्। गरिबलाई रुघाखोकी, हाछ्युँ बिराम हुन्छ तर नेतृत्वलाई वरदान! मानौँ, विदेशी महँगा अस्पताल यिनकै लागि खोलिएका हुन्। 

अभिभावकको निर्देशनमा छायांकन चलिरहेछ। कति मन्त्रालय छन्, कति मन्त्री छन्, कुन मन्त्रालय कसको अंशमा पारिएको छ? कति पटक मन्त्री मण्डल विस्तार भयो? प्रधानमन्त्रीसँग हिसाब गर्न सक्ने ल्याकत छैन। मास्कको आवरणमा जग्गा किनबेचमा कमिशन सुँघ्दै खोलाखोला धाउनेलाई खोजीखोजी मन्त्रीको आसनमा विराजमान गराएको छ। जसको बास चारखाल वा भद्रगोल हुनुपर्ने हो, ऊ सिंहदरबारमा शानसहित विराजमान छ।

खाने कुरामा यिनको मुख मिल्छ। जनताका चाहना, इच्छा, भावना लुट्न प्रायः तयार हुन्छन्। नागरिकको खुसीमा यी दुःखी हुन्छन्। विडम्बना, सास भएका मानिस भएर पनि हामी गड्गडाउँदैनौँ।

मुखले देश, जनता र ईश्वरको नाममा शपथ खान्छन् तर पदीय जिम्मेवारीपछि देश र नागरिक सिकारीको सिकार बन्न बाध्य छन्, स्यालले कुखुरा भ्याए जसरी!
घरमूली आफ्नो घरायसी पोल छिमेकी मालिकसामु बिन्ती बिसाउँछन्, ‘मालिक! बलबुताले भ्याएसम्म गरेँ तर अलि जोडबल पुगेन। यस पटक रिसानी नहोस्, माफ पाऊँ। अर्को पटक जसरी भए पनि दाउ लाग्छ अर्थात् जसोजसो हजुर, त्यसै–त्यसै संविधान!’ 

आफ्ना मामिला आफैँ सल्टाउनुपर्छ। न्याय, समानता, सम्मान, विकास आदि सम्झौताका विषय होइनन् र हुन पनि सक्दैनन् तर तिनलाई आज पनि स्वार्थसिद्धिका भर्‍याङ बनाइएको छ। छिमेकीका अग्ला बाँधका कारण तराईका वस्तीको मुहारमा कहिल्यै हाँसो पलाएन। मानौँ, तिनको भागमा पीडैपीडा मात्र छ! छिमेकी असल, भद्र, भलाद्मी हो, उही व्यवहार मात्रै खत्तम! ऊ सधैँ शान्त, स्थिर, समुन्नत नेपाल चाहन्छ। नेपाली दुःखपीडामा डुबेको हेर्न सक्दैन, त्यसैले नाकाबन्दीको, साँधमा बाँधको खेती गरी नेपालीलाई हाँसो दिन्छ। सरकार त आफ्नै भइगयो, केवल उता छिमेकी मालिकसँग चोचोमोचो मिलाउने हो, साष्टांग दण्डवत् गर्ने हो। बाँधको कथा बोल्यो कि सत्ता पोल्यो भन्ने मनोग्रन्थीले काम बोकेपछि हुन्छ के? फर्केपछि तराई छिर्छ र निर्लज्जताको गीत गाउँछ, ‘अब बाढी छिर्दैन, मैले उता बात मारिसकेको छु।’

निर्वाचन आयोग भन्छ, ‘तिम्रो बेमौसमी सरकार विस्तार निर्वाचन आचारसंहिताभन्दा बाहिर छ।’ प्रधानमन्त्रीको कथन हुन्छ, ‘जे भएको छ, आयोगको मुन्टो हल्लाइमा भएको छ। त्यसमा पनि आयोगले खारेज गर्नु भनी कहीँ कतै बोलेको छैन। बिस्तारको काम अझै बाँकी छ।’ म्यानपावर व्यवसायी भन्छन्, ‘हामीले गलत ढंगले कसैलाई पनि विदेश पठाएका छैनौँ। दश हजार रुपैयाँले हाम्रो गुजारा चल्दैन। त्यसैले हाम्रा कार्यालयमा छापा मार्न र बदनामी गर्न सख्त मनाही छ।’ 
अर्का ब्राण्डेड व्यापारवालाको कथन छ, ‘छापातन्त्र मुर्दावाद! २० प्रतिशतले हाम्रो जीवन धानिँदैन।’ माउ नेतृत्व भन्छ, ‘यसरी व्यवसायीको प्रतिष्ठामा दाग लगाउनु त भएन नि!’ एउटा मन्त्रालय भन्छ, ‘खुच्चिङ, अब कारवाहीमा परिस्।’ अर्कोले भन्छ, ‘पीर नगर, त्यो भुक्ने मात्र हो, टोक्ने मैले हो। तिम्रो–हाम्रो सम्बन्धको जति चर्चा चल्छ, चल्न देऊ, मिलिजुली खाँदा अरू जति जल्छन्, जल्न देऊ!’

यतायातायात क्षेत्र आफूलाई सरकारभन्दा माथि ठान्छ। ‘हाम्रा यी माग पूरा भए दशैँ, तिहार र छठमा गाडी सरर, नत्र ...!’ सरकार बुहारी झार न पर्‍यो, लत्रक्क पर्दै भन्छ, ‘हवस् ख्वामित्, चिन्ता नगरी बक्स्योस्!’ यस्तै छ यहाँको चलन!

संसदीय व्यवस्था सिध्याउन माओवादीद्वारा मञ्चित नाटक वर्तमान सरकार प्रमुखको करामत सामु विचरा थियो। भनिन्छ, संसदीय व्यवस्थाको जिलो नास्नु छ भने सदाचारसँग विवाह गरी पापाचार र भ्रष्टाचारसँग जीवन व्यतीत गर्न पल्केका पुराना दलका वर्तमान अभिभावकलाई सत्ताको चाबी जिम्मा लगाए पुग्छ। यो व्यवहारबाट पुष्टि भएको यथार्थ हो, भलै कतिपय सास फेर्ने लाशहरूका लागि अप्रिय र अरुचिकर लाग्न सक्छ। 

हिजो मुलुक र नागरिककै हितार्थ भनी एउटा ओडार पस्यो, अर्को भण्डारमा बस्यो। आमने सामने भएर दुइटैले राष्ट्र र जनतालाई नमज्जासँग डसे। आज दुवैको स्वार्थको आन्द्रो गाँसिएको छ, भण्डारमा बसेर आलोपालो धुतिरहेछन्, लुटिरहेछन्। 

वर्तमान राजनीति सिसडोलको फोहोरमा अनुवाद हुनपुगेको छ। इमान र नैतिकतामा पूरै भ्वाङ परेको छ। भूकम्पले जति पीडा दिएको छ, त्यसमा आधाउधी हामी नै जवाफदेही छौँ। सामान्य कुरा हो, भूकम्पबाट रूख ढल्दैन तर घर स्वाहा हुन्छ। बाढीपहिरोको व्यथा तर यी व्यथाभन्दा पनि राजनीतिक भूकम्प र बाढीपहिरोको पीडा बढी चहर्‍याउने हुँदोरहेछ।

संसद्ले भ्रष्टाचारीलाई निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गर्‍यो भनी रमाउनुपर्छ। ऐरेगैरे नथ्थुराम सबै विशिष्ट! पेन्सन सुविधा भित्र्याउन चोर गौँडाहरू चहार्ने प्रयत्न जारी रहेका समाचार नआएको दिन छैन। सुविधा वा आर्थिक सहायता जस्ता कुरा देशको आर्थिक हालत कस्तो छ? आफूले मुलुकप्रति कतिको गुन लगाइएको छ? दैनिक गुजारा चल्छ कि चल्दैन? नागरिकहरू गरिबी र अभावले चाउरिएका छन् कि छैनन्? सिटामोलको अभावमा मृत्युवरण गर्नुपरेको छ कि छैन नागरिकले ? देश आन्तरिक  स्रोतसाधनबाट सञ्चालित छ कि वैदेशिक सहयोग वा विप्रेषणबाट? आदि विषयको आधारमा निर्धारण हुने गर्दछ।

जवाफदेहिता, पारदर्शिता, सुशासन, कानुनी शासन देखाउने कुरा मात्र भए। सत्ता कब्जा गर्न बन्दुक अब चाहिएन, चारैतिर गौँडा, नाकाहरूमा सुदूरबहादुर, निगमबहादुर, शर्माबहादुर खटाए पुग्छ। लाग्छ, लोकतन्त्र भनेको यिनैको संगम हो। नेतृत्व सुरका मार्गदर्शक हुन् कि बेसुरका? बाटोमा हिँडाउँछन् कि नालीमा? इमानको खेती गर्छन् कि बेइमानको? 

अन्ततः उर्दूका महाकवि मिर्जा गालिबले भनेझैँ भन्नै पर्छ, धूलो त आफ्नै मुहारमा जमेको थियो, मैले ऐना पुछ्दै जीवन बिताएँ! नैतिकता, इमान्दारी, निष्ठा असल नेतृत्वका हतियार हुन् भने शब्दजाल बेइमानका! असली नेतृत्वले बाटो बनाउँछ वा देखाउँछ तर बाँदरे नेतृत्वले न आफू बनाउँछ, न अर्काले बनाएको बाँकी राख्छ। हामी अहिले पनि पछिल्लोबाट शासित छौँ। 

अन्त्यमा, खाने कुरामा यिनको मुख मिल्छ। जनताका चाहना, इच्छा, भावना लुट्न प्रायः तयार हुन्छन्। नागरिकको खुसीमा यी दुःखी हुन्छन्। विडम्बना, सास भएका मानिस भएर पनि हामी गड्गडाउँदैनौँ। जब बेथिति फलिरहँदा मौनता साँध्छौँ वा दलीय, नातागोता, फरियावादमा रुमलिएर ठीक छ भन्छौँ, बुद्धिजीवी बनेर दलीय फेरोमा रमाउछौँ, सत्य ओकल्ने हिम्मत आउँदैन। 

बाँदरलाई मकै रुङ्ने जिम्मेवारी दिएर मकै सुरक्षित हुन सक्दैन, हामी भन्दैनौँ। यस्तो मौसममा कसरी फुल्ला खुसीको फूल? घरमा आगो सल्किएका बेला खै कसरी गाउन सकिएला र लैबरीको गीत? सत्यको हुलमा अन्तिम सत्य हो, मृत्यु, जहाँ धेरै पात्रहरू गह्नाएर सकिएका छन्। सम्झनुहोस्, एउटा थियो गइसक्यो, बाँकी छ कुलङ्घार र अर्को जन्मन नै बाँकी छ। अब उसको जन्माइको प्रतीक्षार्थ कर्मबाहेक विकल्प छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.