|

पाल्पा : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्था बनाउने प्रतिवद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शुक्रबार तानसेनमा गरेको स्वगत तथा बधाई कार्यक्रममा उनले निर्वाचनको बेला फरक– फरक प्यानल भए पनि अब त्यसको अन्त्य भइसकेको बताए।

'लोकतान्त्रिक पद्धतिमा चुनावी प्रक्रिया हुनु स्वभाविक हो' उनले भने, 'त्यस लगत्तै सबै पत्रकार र पत्रकार महासंघ साझा संस्था भइसकेको छ।' उनले विभिन्न चुनौतीका बावजुद पनि आफ्नो कार्यकालमा साझा चरित्रको महासंघ बनाएर छाड्ने प्रतिवद्धता जनाए।

पत्रकार महासंघ शुद्धीकरण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए। अध्यक्ष आचार्यले वुद्धिजिवी, नागरिक समाज लगायतका मानिसहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेर को पत्रकार हो? को होइन? भन्ने कुराको टुंगो लगाउने बताए। 'क्रियाशील छुटेका पत्रकारलाई महासंघमा ल्याउछौं' उनले भने 'क्रियाशील नभएका पत्रकारहरुलाई सम्मानका साथ विदाई गर्नेछौं।' 

अध्यक्ष आचार्यले अब स्थानीय तहमा महासंघ गठन गरिने बताए। 'अबको ६ महिनाभित्रमा सबै प्रदेशमा महासंघको निर्वाचन हुन्छ' उनले भने, 'त्यसलगत्तै स्थानीय तहमा समेत निर्वाचनका प्रक्रिया अगाडि बढ्ने छ।' कम्तीमा १५ जना भएको स्थानीय तहमा निर्वाचन हुन्छ भन्दै उनले संख्या नपुग्ने गाउँपालिका र नगरपालिकालाई मिलाएर स्थानीय तहमा महासंघ गठन हुनेछ।

सञ्चार माध्यमले सामाजिक उत्तरदायित्व पुरा गरिरहेको भन्दै अध्यक्ष आचार्यले सरकारले करमा छुट दिनुपर्ने उनले माग गरे। अझै पनि यो वा त्यो बाहनामा सञ्चार माध्यमलाई अंकुश लगाउने काम भएको भन्दै उनले पूर्ण स्वतन्त्र र स्वायत्त बनाउनेपर्नेमा जोड दिए।

सिंहदरबारको अधिकार गाउँमा पुगेको भने पनि सञ्चार माध्यम र सञ्चारकर्मीले त्यसको अनुभूति गर्न नपाएको उनको भनाइ छ। उनले अनलाइन मिडियालाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताए। अध्यक्ष आचार्यले समानुपातिक विज्ञापनको नीति कडाइका साथ कार्यान्वयन गर्ने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.