|

  • देवी गुरुङ-

रोल्पा :  थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीलाई अपहरण गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्युरो ईन्चार्ज केशबहादुर बाँठा ‘सुबास’ लाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो मिरुलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भटटराईले बताएका छन्।

शनिबार थबाङ गाउँपालिकाको गाउँसभा गर्ने तयारीमा लागेका गाउँपालिका प्रमुख घर्तीलाई बिहीबार राति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको छ। उसले शनिबारसम्म घर्तीलाई मुक्त गरेको छैन।

उता थबाङ गाउँपालिकाको जंगल, ओडार र लुकीछिपी बस्न सक्ने स्थानहरुमा समेत प्रहरी परिचालन भए पनि घर्तीलाई फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भटटराईले बताए। उनी भन्छन् ‘बिहीबार गाउँपालिका प्रमुख अपहरणमा पर्नुभयो, शुक्रबार दिउँसो हामीले नेकपाका नेता सुबासजीलाई पक्राउ गरेका हौं, निकै सोधपुछ गरियो तर उहाँले मुख खोल्नुभएको छैन प्रयास अझैं जारी छ।’

गाउँपालिका प्रमुख घर्ती हालसम्म सुरक्षित नै रहेको खबर आए पनि गाउँपालिकाको गाउँसभा सम्पन्न भएपश्चात मात्रै उनलाई छाडिनेसम्मको खबर आएको सुरक्षाकर्मीहरुले बताएका छन्।

रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरको अपहरणको जिम्मा नेकपाले लिइसकेको छ। शुक्रबार नेकपाको जिल्ला जनपरिषद्, रोल्पाका संयोजक लालबहादुर वलीद्वारा जारी विज्ञप्तिमा गाउँपालिका अध्यक्ष घर्तीमगरलाई अपहरण गरेको नभई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएको छ।

‘थबाङको स्थानीय जनसत्तालाई चुनौती दिन र क्रान्तिकारी जनतालाई हतोत्साहित गर्न थबाङ गाउँपालिकाको कथित गाउँसभालाई उद्घाटन गर्न जानु निकै गम्भीर कुरा हो' विज्ञप्तिमा भनिएकोछ ‘अध्यक्षलाई आवश्यक सोधपुछ गरेर सम्झाई बुझाई गरी जनताकै बीचबाट छिट्टै मुक्त गरिने कुरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ।’

प्रचण्ड आज थबाङ जाँदै

नेकपाले आफ्नो पकड क्षेत्र मान्दै आएको थबाङमा माओवादी केन्द्रले जितेपछि यस्तो व्यवहार गरेको कतिपय स्थानीय वासिन्दा बताउँछन्। शनिबार गाउँसभाको उद्घाटनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत केन्द्रीय नेताहरु थबाङ पुग्ने नेकपा माओबादी केन्द्रले जनाएको छ। गाउँपालिकाको सभालाई भन्दा पनि प्रचण्डको थबाङ आगमनलाई रोक्न नेकपाले अध्यक्षलाई कब्जामा लिएको प्रहरीको अनुमान छ।

थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई बिहीबार राती थबाङ–२ स्थित ससुराली घरमा गएको समयमा केही युवाको समूहले कब्जामा लिएका थिए। रोल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा भन्छन् ‘नेकपाले लगेको भन्ने त लागेको थियो, विज्ञप्ति निकालेपछि पुष्टी भयो।’ प्रहरीका अनुसार घर्तीको खोजीका लागि जनपद तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। शुक्रबार हेलिकप्टरबाट समेत सुरक्षाकर्मी थबाङ पुर्‍याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.