नगरपालिकामै छैन प्रहरीचौकी

|

दैलेख : दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ। स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ।

यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले सुरक्षा हेर्ने गरेको थियो। अहिले पालेतडाबाट सदरमुकामसम्म पुग्न चार घण्टा लाग्ने गर्दछ। अहिले नगरपालिका निर्माण भएको स्थानको मुख्य केन्द्र भन्दा निकै टाढा अपायकपर्ने स्थानमा प्रहरीचौकी रहेकोले समस्या भएको दैलेख प्रहरीले जानकारी दिएको छ।

प्रहरी प्रमुख सरोज पौड्यालले चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि इलाका प्रहरीचौकी माग गरेर पठाएको बताए। जिल्लामा प्रहरी दरबन्दीसमेत अभाव भएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिएका छन्। जिल्लाभरका विभिन्न स्थानमा १६ वटा मात्र युनिट रहेका छन्।

तीन सय ४१ जनाको दरबन्दी रहेको दैलेख प्रहरीमा हाल २७७ जना मात्र रहेको बताइएको छ। जिल्लाभर रहेका तीन लाख जनसंख्याको सुरक्षाको लागि प्रहरी संख्या धेरै न्यून भएकाले यसको व्यवस्थापनका लागि सरकारसँग बारम्बार माग गरेर सर्वदलीय बैठकमार्फत पठाइएको सांसद लक्ष्मी पोखरेलले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.