|

काठमाडौं : काठमाडौंको मध्य बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालयले झन्डै ४ सय दाताको सहयोगमा नयाँ भवन निर्माण गरेको छ। १ करोड ११ लाखमा तयार भएको भवनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले रत्नराज्य विद्यालयले आफ्नै पहलमा भवन निर्माण गरेर भूकम्प पुनर्निर्माणको लागि उदाहरण पेश गरेको बताइन्। 'सरकारको मात्रै आश नगरेर विद्यालयले जनताबाट सहयोग उठाएर भवन निर्माण गर्नु उदाहरणीय काम हो, यो भूकम्पपछिको पुनर्निर्माणमा पनि सहयोगी बन्नेछ भन्ने आशा राखेको छु।'

विद्यालयले नयाँ अर्को भवन निर्माणका लागि 'एक व्यक्ति एक इटा' अभियान चलाएर भवनको जग बसाल्न तयार रहेकोमा पनि शुभकामना दिँदै प्रशंसा गरिन्। राष्ट्रपति भण्डारीले सरकारी विद्यालयप्रति आम धारणा नकारात्मक रहेको बेला रत्नराज्य माध्यमिक विद्यलयले प्रसंशनीय काम गरेको बताइन्।

२०७२ वैशाख १२ र २९ गते गएका भूकम्पले रत्नराज्य माध्यमिक विद्यालयको २७ कोठे भवन पठनपाठन गर्न नमिल्ने गरी क्षतिग्रस्त बनाएपछि जनताको पहलमा नयाँ भवन निर्माण गरेको हो। जसमा काठमाडौं क्षेत्र नम्बर १ का सांसद, विद्यालयका शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावकको आर्थिक सहयोगमा १ करोड, ८ लाख, ८५ हजार ७२२ रकम सहयोगमा ८ कोठाको पक्की भवन निर्माण गरिएको विद्यालयकी प्रधानाध्यापक डा. गीता शिवाकोटी खरेलले बताइन्। उक्त विद्यालयमा हाल २ हजार १५० जना विद्यार्थीले पठनपाठन गरिरहेका छन्। 

प्रधानाध्यापक डा. शिवाकोटीका अनुसार रत्नराज्य माध्यमिक विद्यालयले ९ कोठे र ६ कोठे गरी दुई वटा भवन निर्माण गर्न लागेको छ। उनले उक्त भवन नयाँ शैक्षिक सत्रदेखि पठनपाठनका लागि तयार गर्ने गरी निर्माण कार्य भएको उनले जानकारी दिइन्। सरकार र एसियाली विकास बैंकको सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो। 

सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भवन निर्माणमा सहयोग गर्ने २२ जना दाताहरुलाई सम्मान गरेकी थिइन्। सम्मानित हुनेमा पूर्व उपप्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह, सांसद राधेश्याम अधिकारी, सांसद शान्ता मानवी, पूर्व मन्त्री प्रदीप नेपाल लगायत रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.