|

काठमाडौ : नेपालमा ३५ प्रतिशत किशोरीले यौन सम्पर्कको समयमा परिवार नियोजनको साधन प्रयोग नगरेको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को अनुसार १५ देखि १९ वर्षसम्मका किशोरीहरुले इच्छा भए पनि परिवार नियोजनको साधनको प्रयोग गर्न नपाएका हुन्। 

नेपाल परिवार नियोजन दिवसको अवसरमा सोमबार स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा. नरेशप्रताप केसीले स्वास्थ्यकर्मीको परामर्श नपाउँदा, स्वास्थ्य संस्थासम्म पहुँच नहुदा र यस्ता साधन सजिलै नपाउँदा किशोरीहरुले परिवार नियोजन साधन प्रयोग नगरेको पाइएको बताए। 'राम्रोसँग काउन्सिलिङ नहुँदा र स्वास्थ्य संस्थाको सहज पहुँच नहुदा परिवार नियोजनको साधन प्रयोग गर्ने इच्छा हुदाहुदै पनि किशोरीहरुले यस्ता साधनको प्रयोग गर्न पाएका छैनन्' उनले भने। 

स्वास्थ्य सचिव डा. किरण रेग्मीले परिवार नियोजनको साधनको प्रयोगले प्रजनदर घटाउने मात्र नभएर गुणस्तरीय परिवारको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। 'परिवार नियोजनको साधनको प्रयोगले प्रजनदर घटाउने मात्र होइन मानव विकास सुचकांकसंग पनि यस्ता साधनको महत्वपूर्ण सम्बन्ध हुन्छ, त्यसैले यस्ता साधन प्रयोगको पहुँच पुर्‍याउनु आवश्यक छ' उनले भनिन्। 

५३ प्रतिशत महिलाले प्रयोग गर्छन् परिवार नियोजनको साधन

'नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण' ले २०१६ मा गरेको सर्वेक्षण अनुसार हाल नेपालमा ५३ प्रतिशत महिलाले परिवार नियोजनको साधन प्रयोग गर्ने गर्छन्। जसमा ४३ प्रतिशत महिलाले मात्र अाधुनिक परिवार नियोजनको साधनको प्रयोग गर्ने गरेका छन्।

अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भन्ने चेतना नभएको र यस्ता साधनको उपलब्धता नभएको परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा.केसीले बताए। तराइका मुसहर महिला, दलित र हिमाली भेगका महिलाहरु परिवारको नियोजनको साधनको पहुँच भन्दा टाढा रहेका उनको भनाइ छ। 

'परिवार नियोजनको साधनले जन्मान्तर मात्र कायम गर्ने होइन, यसले त मातृ मुत्युदर र प्रजनदरमा पनि कमी ल्याउन मद्धत गर्छ। अझै पनि तराइका मुसहर महिला, दलित र हिमाली भेगका महिलाहरुमा यस सम्बन्धी चेतना र उपलब्धता छैन त्यसैले अबको चुनौती भनेको त्यस्ता पिछडिएका महिलाहरुमा परिवार नियोजनको साधनको पहुचँमा ल्याउनु हो' उनले भने। 

सरकारले २०३० सम्म नेपालमा परिवार नियोजनका साधनको प्रयोगको दरलाई बढाएर ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को अनुसार हाल नेपालको कुल प्रजनन दर २.३ प्रतिशत रहेको छ। यो दर सन् २०२० सम्ममा २.१ मा झार्ने सरकारी लक्ष्य छ। तर ग्रामीण भेगमा २.९ र शहरी क्षेत्रमा २ प्रतिशत कुल प्रजनन दर रहेको छ।

सरकारले आईयूसीडी र इम्प्लान्ट सेवा मुलुकभर विस्तार गर्ने बताए पनि हाल १५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र सो सेवा प्रदान गरिएको छ। सरकारले परिवार नियोजनको साधनको उपलब्धताका लागि वर्षेनी ५० करोड रुपैयाँ खर्च गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.