|
फोटो : रासस

काठमाडौं : सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनलाई अझै प्रभावकारी बनाउन सरकार र राजनीतिक दलहरुलाई आह्वान गरेकी छन्। सभामुख घर्तीले संविधानको समयवद्ध कार्यान्वयनका लागि राज्यका सबै निकायले अझै धेरै मेहनत गर्नुपर्नेमा पनि जोड दिइन्।

संविधान दिवसको अवसर पारेर व्यवस्थापिका संसदले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको काममा मुलुकले एकपछि अर्को सफलता हासिल गर्दै गएको पनि स्मरण गराइन्। राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा समेतको उपस्थितिमा आयोजित समारोहमा सभामुख घर्तीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा मुलुकले सफलता हासिल गर्दै गएको बताइन्।

२०७२ असोज ३ गते संविधान सभाबाट संविधान जारी भएको दिन संविधान दिवस मनाउने गरिन्छ। तर संसद सचिवालयले संविधान दिवसको एक दिनअघि नै विशेष कार्यक्रम आयोजना गरेको हो।

सभामुख घर्तीले अब प्रदेश सभा र प्रतिनिधि निर्वाचन सम्पन्न गर्न पनि सरकार र राजनीतिक दलहरु सफल हुने विश्वास व्यक्त गरिन्। उनले संविधान कार्यान्वयनका लागि संसदले पनि कानुन निर्माणको कामलाई तीव्रता दिएको पनि स्मरण गराइन्। सभामुख घर्तीले संविधान निर्माण गर्नु भन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जटिल विषय भएको तर्फ पनि सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराइन्।

सभामुख घर्तीले संसदलाई जनतासँग पहुँच पुर्‍याउने कामलाई उच्च प्राथमिकता दिइएको पनि उल्लेख गरिन्। त्यस अवसरमा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो। समारोहमा पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागितामा रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.