|

एजेन्सी : नेपाल,भारत लगायतका दक्षिण एशियाली देशमा बाबाहरुलाई ठूलो सम्मान मिल्छ। तर, बाबाहरु सधैं सम्मानित भइरहन्छन् भन्ने होइन।

केही बाबाहरु आफ्ना गलत कामका कारण विवादमा मुछिन्छन्। जस्तो अहिले भारतका चर्चित बाबा रामरहिम आफ्नै साधिकाहरुमाथि गरेको बलात्कारका कारण जेलमा छन्। उनीमाथि हत्याको आरोप समेत छ।

यौन शोषण, व्यक्ति हत्या, लागु पदार्थको दुर्व्यसन, अकुत सम्पत्ति आर्जन लगायत विषयका कारण  थुप्रैले रामरहिमकै जस्तो नियती भोग्नुपरेको छ।

तर यसो भन्दैमा सबै बाबाहरु खराब छन् भन्ने होइन।  बाबाहरु सम्मानित छन्। उनीहरु समाजमा पुजिन्छन्। किन त ?

यस विषयमा भारतीय सञ्चारमाध्यम दैनिक भास्करले सर्वेक्षण गरेको छ। भारतमै बाबाहरुबारे यस्तो सर्वेक्षण पहिलोपटक भएको दैनिक भास्करको दाबी छ।यस सर्वेक्षणमा भारतका ५६ हजार ३३८ जनाले भाग लिएका थिए। त्यसमध्ये १८ प्रतिशतले मात्रै बाबाहरुप्रति आफ्नो आस्था रहेको बताए। 

पछिल्ला दिनमा बाबाहरु विवादमा धेरै मुछिएका कारण उनीहरुप्रतिको आस्था कम हुँदै गएको सर्वेक्षणले देखाएको छ। २३ प्रतिशतले बाबाहरु विवादमा मुछिनु संयोग मात्रै रहेको बताएका छन्। बदनाम बाबाहरुका कारण सबै धर्मगुरु बदनाम भएको ८२ प्रतिशतको बुझाइ छ।

सर्वेक्षणबाट के देखिएको छ भने बाबाहरुप्रति सबैभन्दा धेरै आस्था किसानहरुको छ। २३ प्रतिशत किसानले कुनै न कुनै रुपमा बाबाहरुप्रति आस्था राख्ने गरेको बताएका छन्।

६ प्रतिशतले बाबाहरुले चमत्कार गरेको प्रत्यक्ष देखेको दाबी गरेका छन्। त्यसमध्यै बाबाको चमत्कार देख्नेहरुको सबैभन्दा ठूलो संख्या दिल्लीमा छ।

दिल्लीका २५ प्रतिशतले बाबाको चमत्कार प्रत्यक्ष देखेको दाबी गरेका छन्। चार दिनसम्म चलेको यस सर्वेक्षणबाट प्राप्त जानकारीको आँकलन रिसर्च एजेन्सी मार्केट सेपियन्सले गरेको थियो। 

कुन गुणले आकर्षित गर्छ भक्तजनलाई ?

सर्वेक्षणका क्रममा धेरैले मोटिवेशनल गुरुहरुप्रति आस्था राख्ने गरेको बताएका छन्। ५९ प्रतिशतले यस्ता बाबाहरुको योगदान ठूलो रहने बताए। मोटिवेशनल गुरुपछि धर्मगुरु सबैभन्दा धेरै पुजिन्छन्। २४ प्रतिशतले धर्मगुरुप्रति आस्था राख्ने गरेको बताए।

बाबाप्रति आस्था जगाउने काम आफन्त र साथीहरुले गरेको सर्वेक्षणमा सहभागि धेरैले बताएका छन्। ३९ प्रतिशतका अनुसार उनीहरु साथीभाई वा आफन्तले भनेपछि बाबाहरुको सम्पर्कमा पुगेका थिए।

सर्वेक्षणमा सहभागि ३९ प्रतिशतले बाबाहरु पारदर्शी हुनुपर्ने बताएका छन्। उनीहरुले बाबाहरुका आश्रममा सीसीटिभी जडान गर्नुपर्ने बताएका छन्। ९५ प्रतिशतले उनीहरुको सम्पत्तिको जाँच हुनुपर्ने माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.