|

रमेश तिमल्सिना-

रौतहटः धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को जन्मोत्सवको अवसरमा रौतहटको चन्द्रपुर– ८ मा ‘एकीकृत नमुना सन्तपुर बस्ती परियोजना’को आज शिलान्यास भएको छ।

चौथो परियोजनाको रूपमा रहेको सन्तपुरमा फाउण्डेसनका अध्यक्ष कट्टेल, उपाध्यक्ष कुञ्जना घिमिरे र स्थानीय १०६ वर्षकी रामकलीदेवीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

धुर्मुस–सुन्तली फाउण्डेसनले करिव पाँच करोड ७५ लाख रुपैयाँमा रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती निर्माण गर्ने भएको हो। चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुरको दलित बस्तीमा  फाउण्डेसनले बाढीपीडितहरूका लागि राहत वितरणसँगै नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको हो। स्थलगत अध्ययन र अवलोकनपश्चात् फाउण्डेसनले दलित बस्तीमा एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गर्ने घोषणा गरेको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० मानिस बसोवास गरिरहेका छन्। बस्तीमा माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरूको बसोवास रहेको छ। बाढीका कारण पूरै घर डुबानमा परेपछि नाजुक अवस्थामा रहेको दलित समुदायका बासिन्दाको सामाजिक तथा आर्थिक अवस्थासमेत दयनीय रहेको थियो। बस्तीका अधिकांश अशिक्षित र बेरोजगार भएकाले अभिभावकले बालबालिकाहरूलाई विद्यालय नपठाउने गरेका छन्।

विपन्न वर्गका दलित समुदायको घर पनि बाढीले भत्किएपछि समस्यामा परेको सो समुदायका अगुवा सत्यनारायण माझीले बताए। फाउण्डेसनले निर्माण गर्ने एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भूकम्पप्रतिरोधी र नेपाल सरकारको मापदण्डअनुसार दुई तलाको चारवटा कोठा हुनेगरी १ शौचालय, धारा र बगैँचासमेत निर्माण गरिनेछ ।

बस्तीभित्र ४५ वटा आवासीय घर, १ मन्दिर, सार्वजनिक धारा र शौचालयहरू, सामुदायिक भवन, पाहुना घर र पूरै बस्ती अवलोकन गर्ने भ्यू टावरको निर्माण गरी आकर्षक र सुविधा सम्पन्न बस्ती निर्माण गरिने धुर्मुस–सुन्तली फाउण्डेसनले जनाएको छ। 

यसअघि धुर्मुस–सुन्तली फाउण्डेसनले तीनवटा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ। पुनर्निर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउँका भूकम्पपीडित २० परिवारका लागि भूकम्पप्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भूकम्पपीडित तामाङ गाउँमा ६६ आवासीय घर तथा महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकीकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको छ।

एकिकृत नमुना सन्तपुर बस्ती परियोजना आउँदो माघ २४ गतेभित्र हस्तान्तरण गर्ने फाउण्डेसनकी उपाध्यक्ष तथा कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.