|

चितवन : विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा संरक्षणका लागि सामूहिक प्रयास जरुरी रहेको संरक्षणसँग सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन्। विश्व गैंडा दिवसको सन्दर्भमा शुक्रबार चितवनको रत्ननगरस्थित सौराहामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन्। दुर्लभ एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै रहेका छन्।

 चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन र वन्यजन्तु जोगाउन निकुञ्जको प्रयास मात्रै पर्याप्त नहुने भन्दै स्थानिय समुदाय र संघसंस्थाको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।

सौराहामा रहेको बाघ संरक्षण उपसमिति, चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायत पर्यटन र संरक्षणसँग सम्बन्धित झन्डै २० वटा संघ संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो।

सो क्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले गैंडाको हालसम्मको अबस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। बाघ संरक्षण उपसमिति चितवनका संयोजक जीतु तामाङले स्थानियहरुको सक्रियताकै कारण चितवनमा संरक्षण कार्य प्रभावकारी भएको भन्दै अझै गैंडा जोगाउन ठुलै चुनौती रहेको बताए।

उनले शून्य चोरी सिकारलाई कायम राख्न अझै संरक्षणमा नयाँ योजना ल्याई चोरी शिकार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले घाँसेमैदान व्यवस्थापनमा समेत ध्यान जानुपर्नेमा जोड दिए। पछिल्लो गणनाअनुसार चितवनमा ६०५ गैंडा रहेका छन्। नेपालमा सबैभन्दा बढी गैंडा चितवन निकुञ्जमा छ। कार्यक्रममा सहभागिहरुले पर्यटन र संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताएका थिए। चितवनको पर्यटन वन्यजन्तुमा केन्द्रित छ। उनीहरुले चाडबालका बेलामा हुनसक्ने जोखिमबारे समेत ध्यानाकर्षण गराएका छन्।

निकुञ्जले स्थानीय प्रशासन, प्रहरी, अनुसन्धान ब्युरो र स्थानीय समुदायको सहकार्यमा संरक्षणका कार्यक्रम अघि बढाएकाले विगतमा १ हजार दिन भन्दा बढी शुन्य चोरी शिकार समय मनाइसकेको छ।

त्यसपछि पश्चिम चितवनको जगतपुरमा तस्करले एउटा गैंडा मारेकाले शून्य चोरी शिकार बर्ष कायम राख्न निकुञ्जसामु ठूलो चुनौती रहेको सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्। पछिल्लो समयमा विद्युत प्रवाह भएर तथा विभिन्न कारणले गैंडा मर्ने क्रम बढिरहेको छ। गएको साउन र भदौमा मात्रै यहाँ ९ वटा गैंडा मरेको छ। अघिल्लो बर्ष विभिन्न कारणले चितवनमा २५ गैंडा मरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.