|

झापाः उपन्यासकार श्याम सिंघकको उपन्यास ‘रेमिटल्याण्ड’ नाटकको रूपमा मञ्चन भएको छ। सामाजिक कथावस्तुलाई आधार बनाएर लेखिएको उपन्यास ‘रेमिटल्याण्ड’लाई काँकडभिट्टाको परिवर्तन थिएटरले नाटकमा रूपान्तरण गरेर शुक्रबार मञ्चन गरेको हो। 

परिवर्तन थिएटरकी अध्यक्ष तथा रंगकर्मी कविता नेपालले उपन्यासलाई नाट्य रूपान्तरण गरेकी हुन्। वैदेशिक रोजगारले समाजमा पारेका सकरात्मक र नकारात्मक प्रभावको विषयलाई प्रस्तुत गरिएको नाटकको निर्देशन कविता नेपाल स्वयंले गरेकी हुन्। 

नाटकमा मुख्य दुई पात्रलाई लिइएको छ, मुक्साङ र रुक्मिणी। मुक्साङ लिम्बू समुदायका ३५ वर्ष नागेका पुरुष हुन्छन्। रुक्मिणी ब्राह्मण समुदायकी २२ वर्षकी बिवाहित युवती। उनका श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशिएका हुन्छन्। यता, मुक्साङकी श्रीमती भने उनी वैदेशिक रोजगारीको शिलशिलामा विदेशिएका क्रममा छोरीसमेत लिएर अर्कैसँग विवाह गरेर गएकी हुन्छिन्। 

उनले बजारमा एउटा सानो चिया पसल खोलेकी हुन्छिन्। चिया पसलको नाम नै ‘सोल्टिनीको चिया पसल’ भएकाले उनलाई सबैले ‘सोल्टिनी’ भनेर बोलाउँछन्। नाटकको सुरुवात नै मुक्साङ विदेशबाट फर्किएपछि आफ्नी श्रीमती नहुनुको पीडाबाट हुन्छ। आफ्नी श्रीमतीलाई घरमा सबैतिर खोज्छन् तर उनले भेट्दैनन्। श्रीमतीको पत्र हेरेर मात्र थाहा पाउँछन्, श्रीमती त अर्कैसँग हिँडेकी रहिछन् भन्ने। उनले आफ्ना साथी नयराजबाट विस्तारै पीडा भुल्दै जान्छन्। समाजमा सामान्य तरिकाले घुलमिल हुन थाल्छन्। उनलाई एक दिन नयराजले रुक्मिणीको चिया पसलमा लैजान्छन्। उनको परिचय रुक्मिणीसँग हुन्छ। तर नयराजले सुरुमै मुक्साङकी श्रीमती हङकङमा भएको रुक्मिणीलाई सुनाउँछन्।

मुक्साङ र रुक्मिणी विस्तारै नजिकिँदै जान्छन्। उनीहरूबीच पहिला त दाइ–बहिनीको सम्बन्ध हुन्छ। तर पछि नजिकिँदै गएपछि उनीहरू साथी बन्छन्। उनीहरूबीच पैसा लेनदेनसम्मको सम्बन्ध अघि बढ्छ। उनीहरू विस्तारै नजिक हुन्छन् र प्रेम बस्छ। तर उनीहरूले अगाडि नै आफूहरूबीच कुनै अनैतिक सम्बन्ध नहुने र विवाह नगर्ने गरीको प्रेम सम्बन्ध हुने सम्झौता गर्छन्।

रुक्मिणीका श्रीमान विदेशबाट फर्कन कुराले उनीहरू निकै दुखी हुन्छन्। श्रीमान आएपछि रुक्मिणीले चिया पसल पनि बेच्छिन्। उनी मुक्साङबाट समेत टाढा हुन्छिन्। उनीहरूले आफ्नो प्रेमको निशानीका रूपमा फूल रोपेका हुन्छन्। मुक्साङको दैनिकी त्यही फूललाई गोडमेल गर्दै बित्छ। एक दिन अचानक उक्त बगैँचामा एक महिलाले गोडमेल गर्दै गरेको मुक्साङले देख्छ। ऊ नजिक पुग्दा थाहा पाउँछन्, उनी रुक्मिणी रहिछन्। 

उनीहरूबीच संवाद सुरु हुन्छ। उनका श्रीमानले त मुक्साङसँगको सम्बन्धका बारेमा थाहा पाएर उनलाई डिभोर्स गरेर अर्की श्रीमती ल्याउने भएको बताउँछिन्। त्यसपछि उनीहरूबीच विवाह गर्ने सहमति हुन्छ तर रुक्मिणीले दिदीसँग सल्लाह गरेर मात्र विवाह गर्ने बताउँछिन्। 

एक दिन मुक्साङ र नयराज कुरा गर्दै बसिरहेका हुन्छन्। त्यही क्रममा रुक्मिणी उदास भएर आउँछिन्। उनका श्रीमान् दुर्घटनामा परेर एउटा खुट्टा गुमाएको सुनाउँछिन्। त्यसपछि रुक्मिणी सधैँका लागि मुक्साङबाट टाढा हुन्छिन्।

नाटकमा अन्य कलाकारहरूले पनि वैदेशिक रोजगारका कारण आएको विकृतिलाई दर्शाएका छन्। नाटकका महिला पात्रहरूले श्रीमान् विदेशिएको समयमा यहाँ श्रीमानले कमाएको पैसा मदिरा तथा जुवातासमा सकेको विषयलाई समेत सशक्त रूपमा उठाइएको छ।

नाटकले वैदेशिक रोजगारले रेमिट्यान्स मात्र होइन, विकृतिलाई समेत भित्र्याएको देखाएको छ।

काँकडभिट्टा खानेपानी कार्यालयको सभा हलमा खचाखच दर्शकका बीच नाटक प्रदर्शन भइरहँदा दर्शकलाई समेत नाटकले भावुक बनाएको थियो।

नाटकमा मानहाङ लावती, सुष्मा पोखरेल, गणेश बस्नेत, लोमश पौडेल, बिमला चिमरिया, सम्झना सुब्बा, सविता पोखरेल, केशव भुजेल, प्रतीक्षा आचार्यलगायत कलाकारले अभिनय गरेका थिए।

आफ्नो उपन्यासलाई नाटकमा रूपान्तरण गर्दा कलाकारले न्याय गर्न सकेको नाटक हेरेपछि उपन्यासकार श्याम सिंघकले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.