रातो मासु खाँदै नखाऔं : छाला र बोसो कम खाऊँ

|

काठमाडौं : दसैं भन्नेबित्तिकै रातो टीका र जमरा जोडिएर आउने गर्छ। यसले गर्दा पनि रातो टीका र जमरालाई दसैंको पर्याय मान्ने गरिन्छ। यति मात्र होइन, दसैँसँगै जोडिएर आउने अर्को पक्ष भनेको खानपान पनि हो। अझ दसैं भन्नेबित्तिकै मासु धेरै खाने पर्वको रूपमा लिने गरिन्छ। अहिले पनि दसैंमा घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ।

तर, दसैंमा खानपानमा ध्यान नदिँदा रमाइलोको रूपमा मनाइने यस्ता पर्वले विभिन्न रोगहरू निम्त्याउने स्वास्थ्यकर्मीहरुको मत छ। दसैंमा धेरैले मासु धेरै खाने हुनाले उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिक जस्ता समस्या देखिने हुनाले मासु खाँदा सतर्कता अपनाउन पर्ने भन्ने सुझाव दिन्छन् निजामती अस्पताल बानेश्वरका मुटुरोग विशेषज्ञ डा. कमल लम्साल।

एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म राखेर खाँदा स्वास्थ्यलाई असर गर्ने यस्तै, दसैंमा खाइने रातो मासुले कोलेस्ट्रोल बढ्ने र चिल्लो पदार्थ बढेपछि रक्तनली साँघुरिँदा हृदयाघात, उच्च रक्तचापको सम्भावना धेरै हुने उनको तर्क छ।

मादक पदार्थ मासु सकेसम्म कम खाऊँ

दसैंमा सबैभन्दा धेरै खाइने खाने कुरा मासु हो। योसँगै दसैंमा रक्सी पनि धेरै नै खाने प्रचलन छ। यो दुवै खाने कुरा हाम्रो शरीरका लागि हानिकारक मानिन्छन्। यसर्थ मासु, त्यसमा पनि रातो मासु कम खानु नै स्वास्थ्यका लागि उपयुक्त हुने स्वास्थ्यकर्मीहरूको सुझाव छ। 

मासुको शुद्धतामा ध्यान दिऔं

हामीले खाएको मासु आफैंमा स्वस्थ्य जनावरको हो कि होइन भनेर धेरैले ख्याल गरेको पाइँदैन, जसले गर्दा पनि हामीलाई जनावरबाट सर्ने रोगहरू सर्ने जोखिम धेरै हुने गर्दछ। त्यसैले आफूले खान लागिएको मासु कत्तिको स्वस्थ छ भनेर ध्यान पुर्याउनु उति नै महत्वपूर्ण हुन्छ। अर्को कुरा, मासुको भण्डारणमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। अझ अहिले तापक्रम पनि धेरै भएको अवस्था छ। त्यसैले मासुलाई राम्रोसँग डी फ्रिज गरेर राख्नुपर्छ।

छाला बोसो हटाएर मासु सेवन गरौं

हामीले जुनसुकै जनावरको मासु सेवन गरे पनि सकेसम्म छाला र बोसो भएको मासु सेवन गर्नु उचित नहुने डा. लम्साल बताउँछन्। उनी भन्छन्, ‘छालामा कोलेस्ट्रोल धेरै हुने गर्दछ। अर्को कुरा छालाले वातावरणका विभिन्न तत्वहरूलाई प्रत्यक्ष रूपमा ग्रहण गरिरहेको हुन्छ। यसले गर्दा छालामा केही न केही रोग निम्त्याउने विभिन्न तत्वहरू हुन्छन् त्यसैले छालालाई मासुको रूपमा खान राम्रो मानिँदैन।’

चिल्लो, पोलेको, धेरै फ्राई गरेको मासु कम खाने

दसैंमा धेरै चिल्लो र फ्राई गरेका खाने कुराले रक्तचाप र मधुमेहका बिरामीलाई असर गर्छ। धेरै फ्राई गरेका खानेकुरा खाँदा फ्राई गर्न प्रयोग गरिएको तेल, घ्यू धेरै बेरसम्म तताउँदा त्यसमा विषालु पदार्थ जम्छ, जसले मुटुलाई निकै हानि पुर्‍याउने डा. लम्सालको भनाइ छ। दसैँमा पकाएको माछामासु धेरै दिनसम्म खानु पनि राम्रो हुँदैन। पकाएको मासु लामो समयसम्म राख्दा मासु दूषित हुन्छ र हाम्रो शरीरलाई हानि गर्छ।

धुम्रपान पेय प्रदार्थ कम खाऊँ

दसैंमा माछामासुका साथै धुम्रपान तथा पेय पदार्थको प्रयोग धेरै नगर्न पनि डा. लम्सालको सुझाव छ। भन्छन्, वर्ष दिनमा आउने चाड भन्दै साथीभाइसँग रमाइलो गर्ने बहानामा माछामासुसँगै पेय पदार्थको प्रयोग अत्यधिक हुने भएकाले रमाइलो गर्ने बहानामा माछामासुसँगै खाइने पेय पदार्थले शरीरलाई हानि गर्छ।’ चाडवाडको बहानामा खाइने यस्ता पेय पदार्थ र धुम्रपानले मुटु र फोक्सोलाई असर गर्छन्। चिसो र पेय पदार्थमा अत्यधिक गुलियो हुने भएकाले धेरै सेवन गर्नु राम्रो हुँदैन। सुगर, प्रेसर र मुटु रोग भएका व्यक्तिले त झन् पेय पदार्थ सेवन गर्नै नहुने डा. लम्सालको मत छ।

दसैंमा धेरै माछामासु खानुभन्दा फलफूल, दूध, दही, सलाद र हरियो सागपातमा जोड दिनु राम्रो हुने र यसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई बढ्न नदिने सल्लाह दिन्छन् डा. लम्साल।

रातो मासु कम खाऊँ

दसैंमा धेरै खसी बोका लगायतका जनावरहरूको मासु खाने गरिन्छ। यी सबै रातो मासुको वर्गमा पर्ने जनावरहरू हुन्। यसरी एकै समयमा धेरै रातो मासु खाँदा शरीरमा कोलेस्ट्रोल बढ्नुका साथै उच्च रक्तचाप हुन सक्छ, जसले मुटु लगायतका रोगहरू लाग्ने जोखिम धेरै हुन्छ। अर्कोतर्फ रातो मासु धेरै खाँदा मोटोपना बढ्नाले शरीरमा अन्य जोखिम बढ्ने सम्भावना पनि उति नै हुन्छ।

त्यसैले खसी बोकाको मासुभन्दा सकेसम्म कुखुरा तथा माछा खाने गर्नाले शरीरलाई धेरै फाइदा पुग्ने डा. लम्सालको सल्लाह छ। माछामा पाइने ओमेगा–३ ले शरीरका कोषहरू निर्माण गर्न ठूलो सहयोग गर्छ। विशेष गरेर ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायु निर्माणमा सहयोग गर्नुका साथै शरीरका कुनै पनि तन्तुहरूको निर्माण, विकास र वृद्धि हुनमा ओमेगा–३ एसिडको महत्वपूर्ण भूमिका हुन्छ।

(निजामति कर्मचारी अस्पताल बानेश्वरमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कमल लम्सालसँग गरिएको कुराकानीमा आधारित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Anu

    रातो मासु खाँदै नखाऔं : छाला र बोसो कम खाऊँ Re K Haddi Khanu ta ?