|

जाजरकोट : जिल्लाको बारेकोट क्षेत्रका बासिन्दाले दशैमा पनि चामल नपाउने भएका छन्। अष्टमीको दिनसम्म पनि नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा चामल नपुगेपछि स्थानियहरुको दशै खल्लो हुने भएको छ।

‘बारेकोट क्षेत्रमा यातायात असुविधा र बाटोघाटो निकै अफ्ठयारो भएकोले निजी क्षेत्रका ब्यापारीले बिक्रीको लागि चामल नलिँदा थप समस्या भएको हो। गाँउमा चामल नहुँदा  दशैमा अक्षता लगाउन समेत नपाइने भयो,’वारेकोट १ कालीबहादुर सिंहले भने। दशैंअघि नै चामल आउने आशमा भने स्थानीयहरु चामल नआएपछि निराश देखिएका छन्। 

बाटो बिग्रिएका कारण बारेकोटबाट जिल्ला सदरमुकाम खलंगा आउन ३ दिनसम्म मैदान हिंड्नुपर्ने बाध्यता छ। सक्नेहरुले तीन दिन पैदल हिडेर सदरमुकाम आएर चामल लिने गरेका छन्। भारी बोक्न नसक्ने बृद्धबृद्धा , एकल महिला, आर्थिक रुपमा विपन्न समुदायका सीमान्तकृत मानिसहरु भने चरम खाद्य संकटको चपेटामा छन्।

गाँउको वालीनाली राम्रो नहुँदा भात खान खाद्य संस्थानकै चामलमा भर पर्नुपर्ने बाध्यता स्थानीयको छ। ‘तर गाउँको डिपो रित्तै हुँदा दशैमा अक्षता बनाउने समेत चामल छैन। यतिवेला चामलको माग अत्याधिक छ तर डिपोमा चामल नपुग्दा गाँउलेहरु दशै कसरी टार्ने भन्ने पिरलोमा छन्,’ सिंहले भने। 

जिल्लामै थन्कियो चामल 

गाउँमा अभाव भएपनि जिल्ला सदरमुकाम खंलगामा रहेको नेपाल खाद्य संस्थान जाजरकोटको गोदाममा भने चामल भरी भराउ छ। खाद्य संस्थानले चालु आर्थिक बर्षको चामल ढुवानीको लागी बोलपत्र आब्हान गरि सपना एण्ड सरोज कन्ट्रक्सन सेवा खलंगा २ का नाममा ठेक्का स्वीकृत गरिसकेको छ।  

१५ दिने सूचना जारी गरेर सप्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको मिति गुज्रिसकेको छ। तर अझै पनि ढुवानीकर्ता सम्झौता गर्न नआएपछि कार्यालय समस्यामा परेको छ। ठेकेदार कम्पनीले कार्यालयलाई नटेरेपछि दशै अघि नै बारेकोट क्षेत्रमा चामल ढुवानी कार्य अलपत्र परेको हो। 

सप्लायर्सले चालु आर्थिक वर्ष अर्थात आगामी असार भित्र एक हजार क्विन्टल चामल सदरमुकामबाट डिपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन्।

सप्लायर्स कम्पनीको स्वार्थका कारण पुगेन समयमै चामल 

प्रति क्विन्टल एक हजार चार सय ७५ रुपैयाँमा ढुवानी गर्ने गरी २५ दिन अघि नै ठेक्का स्वीकृत भइसकेको छ। बाटो विग्रेकोले यतिवेला सदरमुकामबाटै घोडा खच्चडमा चामल ढुवानी गर्नु पर्ने बाध्यता छ। 

तिहारपछि बाटो मर्मत भइ आधा बाटोसम्म ट्याक्टर चल्ने भएकोले त्यतिखेर ठेकदारलाई समाना ढुवानीमा सस्तो पर्ने गरेको छ। सदरमुकामबाट बारेकोटसम्म खच्चडले प्रति क्विन्टल दुई हजार रुपैयाँ लिने गरेका छन्। 

‘यतिबेला ढुवानी मुल्य बढी पर्ने , घोडाखच्चड नपाइने , बाटो-घाटो बिग्रेको कारण दशै अघि चामल ढुवानी गर्न नसकिएको हो,’ सपना एण्ड सरोज कन्ट्रक्सन सेवाका प्रोपराईटर प्रजित सुनारले बताए। 

चामल ढुवानीको ठेक्का स्वीकृत भएको ठेकेदार कम्पनीले अहिलेसम्म सम्झौता गर्न नआउँदा चामल पठाउन समस्या भएको नेपाल खाद्य सस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले बताए। ‘बारेकोटमा रहेको डिपो एक महिनादेखि रित्तै छ चामल पठाउनु परयो भनेर स्थानीयले माग गरिरहेका छन्। ठेकेदार कम्पनीले टेर्दैन। म कसरी चामल पठाऔं,’ उनले भने। 

जिल्ला सदरमुकाम स्थित खाद्य संस्थानको गोदाममा गत आर्थिक वर्षको करिब चार सय क्विन्टल चामल मौज्दात छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.