|

काठमाडौं : यसवर्षको पद्मश्री साहित्य पुरस्कार बिहीबार कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रदान गरिएको छ। पुरस्कारसँगै पद्मश्री साहित्य सम्मान पनि प्रदान गरिएको छ। 

यसअघि नै युवाकवि नवराज पराजुलीको पहिलो कवितासंग्रह 'सगरमाथाको गहिराइ'लाई पद्मश्री साहित्य पुरस्कार, २०७३ दिने घोषणा गरिएको थियो।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रदान गर्ने पुरस्कार बिहीबार कमलादीस्थित रुसी साँस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरी कवि पराजुलीलाई प्रदान गरिएको हो। पुरस्कार राशि दुई लाख रुपैयाँ नगद तथा सम्मानपत्र रहेको छ। 

त्यस्तै, यस वर्षको पद्मश्री साहित्य सम्मान, २०७३ दुई साहित्यिक पत्रकारलाई प्रदान गरिएको छ। पुराना साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई पद्मश्री साहित्य सम्मानबाट सम्मानित गरिएको हो। सम्मानको राशि पनि दुई लाख रुपैयाँ रहेको छ।

पत्रकारितामार्फत लामो समय साहित्य क्षेत्रमा योगदान पुर्‍याएवापत शर्मा र घिमिरेलाई सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ को सूचीमा जनकराज सापकोटाको 'कहर', कुमार नगरकोटीको 'घाटमाण्डू', राज सरगमको 'छाउघर', नवीन विभासको 'रोल्पा सुइना'सँगै पराजुलीको 'सगरमाथाको गहिराइ' मनोनयनमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.