रातभर नसुती पानी भर्न पालो कुर्दासमेत रित्तै भाँडो

|

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकामा मुहान सुक्दै गएपछि खानेपानीको चरम समस्या सिर्जना भएको छ। मुहानमा पानी घट्दै गएपछि खानेपानी र सिचाइँका लागि पानीको चरम अभाव भएको हो। पानीका मुहान संरक्षणका लागिसमेत सरकारी पक्षबाट बजेट नदिएकाले पानीका मुहान सुक्दै गएको स्थानीयहरुको गुनासो छ।

३० परिवारको बसोबास भएको गाउँपालिकाको वडा नम्बर ३ शेली टोलमा खानेपानीको उचित व्यवस्था नहुँदा नागरिकले टाढाटाढा न्वाला र खोलासम्म धाएर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ।

गाउँपालिकाका अधिकांश मुहानहरुमा पछिल्लो पाँच वर्षमा आधाभन्दा बढी पानी घटेको देखिएको स्थानीय ईश्वर बोहराले बताए। ‘पछिल्लो पाँच वर्षमै मुहानमा पानी आधाभन्दा बढीले घटेको छ,’ बोहराले भने, ‘पहिले सुक्खायाममा समेत नसुक्ने मुहानहरुमा अहिले सुक्छन्।’

गाउँपालिकामा अहिले चार ठाउँमा बृहत खानेपानी आयोजना अन्तिम चरणमा रहेकाले केहीसमयपछि खानेपानीको समस्या अन्त्य हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले बताइन्। यस्तै गाउँपरिषद्बाट पनि खानेपानीका मुहान संरक्षणका लागि बजेट छुट्याएको उनले भनाई छ।

‘डिलाशैनी, मठैराज, गोकुलेश्वर, कोटपेटरामा बृहत खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ, उपाध्यक्ष रानाले भनिन्, ‘दुई÷तीन महिनाभित्रै पानीको समस्या हट्छ।’

रातभर नसुती पानी भर्न पालो कुर्दासमेत रित्तै भाँडो

पानीकै अभावमा बस्ती नै विस्थापित हुने चिन्तामा रहेका नागरिकहरुले मुहान संरक्षण तथा खानेपानी आयोजना निर्माणलाई प्राथामिकता दिन नागरिकहरुले स्थानीय तहलाई आग्रह गरेका छन्। खानेपानी अभावमा नागरिकको निद्रा खोसिएको छ।

स्थानीयहरु रातभर नसुती पानी भर्न पालो कुर्दासमेत रित्तै भाडो घर फर्कनुपर्ने स्थिति समेत आएको छ। घरमा भएको धारामा पानी नआएको लगभग ३ बर्ष भैसकेको बताउदै स्थानीय गगन बोहराले घरबाट आधा घन्टा टाढा उकालो÷ओरालो हिडेर पानी बोक्नुपर्ने बाध्यता रहेको गुनासो गरे। ‘मुहानमा पानी सुकेर धारामा तीनवर्षदेखि पानी आउन छोड्यो,’ उनले भने, ‘टाढाटाढाबाट उकाली ओराली गर्दै पानी बोक्छौं।’

डिलाशैनीका अधिकांस स्थानमा २०–२५ वर्ष पुराना खानेपानीका पाइपबाट पानी तान्ने गरिउको छ भने ट्याङ्कीसमेत जीर्ण अवस्थामा छन्। २०४९ सालमा गाउँमा परिवार संख्या जम्मा ६ तथा गाउको जनसंख्या कम भएकाले सानो पानीले पनि पुग्ने हँुदा नजिकै मूलबाट सानो पाइपमा पानी ल्याएको थियो।  अहिले  गाउँको जनसंख्या बढ्दै जाँदा सो योजनाको पानीले ३०–३२ परिवारले प्रयोग गर्नुपर्ने बाध्याता रहेको शेलीका स्थानीय गगन बोहराले बताए। ‘मुहान संरक्षणको माग गर्दै पहिले सदरमुकाम धाउथ्यौं अहिले गाउँपालिकामा पुग्ने गरेका छौं तर कुनै पहल भएन।’ उनले भने।

उत्पादकत्व प्रतिवर्ष घट्दै

खानेपानीसँगै सिचाइँका लागि समेत कुनै व्यवस्था नहुदा डिलाशैनीमा अन्न उत्पादकत्व प्रतिवर्ष घट्दै गएको छ। मुहानको संरक्षण र सिचाइँ कुलोको व्यवस्था नहुँदा डिलाशैनीका अधिकांश ठाउँमा रोपाइँ गर्न छोडेको स्थानीय भक्तबहादुर साउदले बताए। ‘हामी विकटका जनताका लागि कसैले पनि कुलो निर्माण, खानेपानी योजना दिँदैनन्, सरकारी लगाउनीमा सुविधा पाइने आशा मरिसक्यो।’ उनले भने।

पहिले पहिले डिलाशैनीबासीको करेसावारीमा प्रशस्त तरकारी उत्पादन हुन्थ्यो तर अहिले भने पानीको अभावमा करेसाबारी पनि उजाड देखिन्छन्। सिचाइँको अभावमा साग–तरकारी फलाउन पनि नसकिएको स्थानीय रामसिंह साउदले बताए। ‘कसैको करेसाबारी पनि हरियो देखिँदैन,’ उनले भने, ‘पानी पिउनको लागि त पाइँदैन कसरी बारीमा हाल्न पुग्छ र?’

यस्तै, पहिले एकै घरमा १०÷१६ भैँसी हुने डिलाशैनीका नागरिको घरमा अहिले पानीको अभावमा एक भैँसी पाल्न पनि मुस्किल हुने गरेको छ। चुनावको मुखमा राजनीतिक दलहरुले बृहत खानेपानी आयोजना बनाउने सपना बाँडेको तर, अहिले नेताहरुले कुनै पहल नगरिदिएको स्थानीयहरुको गुनासो छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.