|

  • जङ्ग तामाङ-

पाँचथरः सिक्किमबाट अवैधानिक रूपमा ल्याउँदै गरेको सिक्किमे रक्सी र हिट वियर बरामद गरेर पाँचथर प्रहरीले नष्ट गरेको छ। 

१५६ बोतल सिक्किमे रक्सी र १२६ बोतल हिट वियर जिल्ला प्रशासन कार्यालय र पाँचथर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहवरमा प्रहरीले शुक्रबार नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक विज्ञान बस्नेतले नष्ट गरिएको रक्सी र वियरको मूल्य करिव एक लाख ४० हजार रूपैयाँ रहेको बताए। 

नष्ट गरिएको रक्सी सीमावर्ती प्राङबुङ हुँदै नांगिनको तृतीया बजारमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको टोलीले बरामद गरेको हो। हिट वियर भने प्राङबुङ प्रहरी चौकीले बरामद गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिए। 

यसअघि ८ भदौमा पनि प्रहरीले जिल्लाको उत्तर–पूर्वी क्षेत्रको याङवरक गाउँपालिकाको फलैँचाबाट ४० बोतल सिक्किमे रक्सी बरामद गरेको थियो। सिक्किमे रक्सी पाँचथरको फिदिमसहितका ग्रामीण बजारहरूमा व्यवसायीहरूले लुकाईछिपाई प्रति बोतल ७०० देखि एक हजार २०० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। हिट वियर २०० रूपैयाँदेखि ३५० रूपैयाँसम्ममा बेच्ने गरेका छन्। 

यस भेगमा कोसेलीको रूपमा पनि सिक्किमे रक्सी अधिक प्रयोग हुने गरेको छ। अवैध ढंगबाट ढाकरमा बोकेर नेपालको पूर्वी क्षेत्रमा भित्र्याइने सिक्किमे रक्सीले यहाँको घरेलु रक्सीको बजारमा संकट निम्त्याएको छ।

भारतको सिक्किम राज्यमा उत्पादित सिक्किमे रक्सी सिक्किम भन्दा अन्य देशमा बिक्री गर्न नपाइने प्रावधान छ। सिक्किमे रक्सीमा ‘युज वन्ली सिक्किम’ (सिक्किममा मात्र प्रयोग गर्न पाइने) लेखिएको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.