|

पर्वत : पर्वतको फलेवास नगरपालिका वडा नं. ७ लिमिठानाका भवानीप्रसाद पौडेलको घरमा हिजोआज चहलपहल बढेको छ। हमेशा घरमा कोही न कोही आइरहन्छन्। कारण हो, उनको घरमा फलेको निकै ठूलो घिरौँला।

व्यवसायिक तरकारी खेती गर्दै आएका पौडेलको घरमा फलेको एउटा घिरौँलाको तौल १० किलो छ। आफ्नो जीवनकालमा कहिल्यै त्यति ठूलो घिरौँला नदेखेका उनी स्वयम् दंग छन्। ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन,’ पौडेलले भने, ‘तराजु ल्याएर जोखेको ठ्यक्कै १० किलो रहेछ, यो घिरौँला ३ हात लामो छ।’

जेठमा रोपेको झालमा फलेको यो घिरौँला मात्र ठूलो होइन, अन्य घिरौँलाको पनि आकार सामान्यभन्दा निकै ठूलो छ। बिउका लागि उनले यो घिरौँला बचाइराखेका छन्।

यति ठूलो घिरौँला देखेर कृषि प्राविधिक पनि अचम्ममा छन्। ‘म जन्मेर यत्रो भएँ, यति ठूलो घिरौँला देखेके थिइनँ’, कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, ‘मलिलो जग्गा, नियमित गोडमेल र सिँचाईको प्रबन्धका कारण उत्पादन राम्रो भएको हुनुपर्छ।’

सामान्यतया घिरौँलाको तौल बढीमा १ देखि डेढ किलोसम्म हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.