|

काठमाडौं : ‘मन्त्रिपरिषदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिनिधि समेत रहने भए,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि एक सांसदले आफ्नै साथीहरुबाट सुने। नयाँ सरकारमा सम्भावित मन्त्रीका रुपमा चर्चा थियो उनको।

‘तिमीलाई मन्त्री बनायो भने त नरेन्द्र मोदीले सिफारिस गरेको भन्ने आरोप लाग्छ,’ उनका साथीहरुले ठट्टा गर्थे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै थर मिलेका कारण विविध आरोप खेप्दै आएका छन् एक सांसद, ती हुन् अमनलाल मोदी।

२०४२ असोज ५ गते मोरङको डंग्राह वडा नम्बर ३ मा जन्मिएका हुन् अमनलाल मोदी। उनी माओवादी केन्द्रबाट समानुपातिक सांसद हुन्। पूर्वी नेपालको मोरङ, सुनसरीका थारु समुदायमा मोदी थर भएका व्यक्तिको जनसंख्या करिब ५ हजार रहेको छ। अमनलाल मोदी पनि थारु हुन्।धेरैलाई उनी भारतीय मूलको भन्ने भ्रम रहेछ। ‘म भूमिपुत्र थारु हुँ, उनले भने,‘धेरैले मलाई भारतसँग जोड्छन्, दुःख लाग्छ।’

सय वर्ष बाँचेकी उनकी हजुरआमाले अमनलाललाई नेपालमा मोदी थरको उत्पत्तिको इतिहास सुनाएकी थिइन्। हजुरआमाका अनुसार धनाढ्यका घरमा थारु समुदायका महिलाले मोद (रक्सी) पार्थे। काम गर्ने क्रममा एक महिलाले गर्भधारण गरिन्। ती महिलाले जन्माएका सन्तानलाई मोदी भनियो र त्यसपछि थारु समुदायमा मोदी थरको चलन आएको हो। हजुरआमाले सुनाएको कथाको वास्तविकता र मोदी थरको नेपालमा उत्पत्ति खोज्ने इच्छा छ अब सांसद अमनलाल मोदीलाई। ताकी भारतीय मोदी र नेपाली मोदीलाई हेर्ने एउटै दृष्टिकोण परिवर्तन होस्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नेपालमा नाकाबन्दी गरेपछि उनलाई भारतपरस्तको आरोप लाग्यो। उनी नाकाबन्दीको कडा शब्दमा विरोध गर्थे तथापी भारतसँग विशेष सम्बन्ध भएको व्यक्तिका रुपमा चर्चा भएको उनको स्मरण छ। त्यसमा उनको एउटै दोष हो, थर भारतीय प्रधानमन्त्री मोदीसँग मिल्नु। थर मिलेकै कारण उनले सार्वजनिक कार्यक्रममा गालीगलौज खेप्नुपर्‍यो। ‘म सँधै भारतीय विस्तारवादको विरोध गर्थें,’,उनले भने,‘ तर थर मिलेकैले भारतीय प्रधानमन्त्रीसँग विशेष सम्बन्ध रहेको चर्चा गर्दा मलाई अचम्म लाग्थ्यो।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग न उनको औपचारिक चिनजान थियो न त विशेष सम्बन्ध नै। २०७१ साल साउनमा मोदीको नेपाल भ्रमणको क्रममा भने उनीसँग हार्दिक सम्बन्ध कायम भयो।

मोदी नेपाल आएका बेला काठमाडौंको हायात होटलमा रिसेप्सन थियो। उनले मोदीतर्फ हात लम्काउदै भने 'म अमनलाल मोदी।' नरेन्द्र मोदी आश्चर्यचकित भए। नेपाल मे भी मोदी हे!। 

थर मिलेकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीसँग हार्दिकता प्रस्तुत गरे। उनले भारत भ्रमणको निम्तो समेत पाए। ‘नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले थर मिलेकोमा आश्चर्य प्रकट गरे,उनले भने,‘विशेष हार्दिकता प्रकट गर्दै उनले मलाई भारत भ्रमणको निम्तो समेत दिए।’

भारतीय मोदीको निम्तो मान्न नेपाली मोदी हालसम्म गएका छैनन्। थर मोदी भएकै कारण संयोगले उनी भारतीय प्रधानमन्त्रीसँग सम्बन्ध स्थापित गर्न सफल भए। उनी त्यसमा खुशी छन्। त्यो भन्दा बढी पहिचान स्थापित गराउन सफल भएकोमा छन्। ‘मोदी भन्ने बित्तिकै भारतीय भन्ने भ्रम थियो। संविधानसभा र संसदमा मैले प्रतिनिधित्व गरेपछि नेपाली भूमिमा पनि मोदी छन् भनेर चिनाउन सफल भएको छु’उनले भने।

गहकिला विषयमा संसदमा खरो धारणा प्रस्तुत गर्ने, संसदीय समितिमा आक्रामक ढंगमा प्रस्तुत हुने कारणले मोदी सांसद वृत्तमा चर्चित छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बटुलेको चर्चालाई समेत जोडेर उनी भन्छन्,‘नेपाल र भारतमा मात्र होइन मोदी अन्तर्राष्ट्रिय जगतमा पनि परिचित छन्।

अहिलेको मन्त्रिपरिषदमा सम्भावित मन्त्रीका रुपमा हेरिएपनि उनी समावेश हुन सकेनन्। साथीहरुले खिसी गरेजस्तै मोदी भएकै कारणले मन्त्री हुन नपाएको त होइन? भन्ने जिज्ञासामा उनी हाँस्दै भन्छन्,‘केही साथीहरुले ठट्टा गरेपनि अध्यक्ष र पार्टीका अन्य साथीहरुले म भूमिपुत्र थारु हुँ थर मिल्नु संयोग हो भन्ने बुझेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.