|

रूपन्देहीः रूपन्देहीमा डेँगुको महामारी फैलिन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सजग रहन चेतावनी दिएको छ।

पछिल्लो सातायता संक्रमण डेँगुको दर निकै उच्च भएको भन्दै छ वर्षअघिको जस्तै महामारी फैलिन सक्ने जनस्वास्थ्य कार्यालयले अनुमान गरेको छ।

छ वर्षअघि रूपन्देहीमा तीन सय जनालाई डेँगु ज्वरोको संक्रमण भएको थियो भने चार जनाले ज्यान गुमाएका थिए।

यो वर्षको पछिल्लो साता मात्रै डेँगु संक्रमणका बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ। रूपन्देहीमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने ४१ जनामा डेँगुको संक्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार पुस महिनासम्म नै लामखुट्टे सक्रिय हुने भएकाले रूपन्देही उच्च जोखिममा रहेको छ। 

‘यो तथ्यांक रूपन्देहीका अस्पतालमा उपचारमा आउनेको मात्रै हो, जनस्वास्थ्य कार्यालय भेक्ट्रल कन्ट्रोल निरीक्षक केदार साहले भने, ‘पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ।’

०६८ सालयता रूपन्देहीमा ठूलो महामारी देखिएको थिएन। ०६८ सालमा चितवनपछि सबैभन्दा बढी संक्रमण रूपन्देहीमा भएको थियो। छ वर्षको अन्तरालमा झण्डै दश जनाले ज्यान गुमाएका छन् भने करिब एक हजार जनामा संक्रमण देखिएको छ।

रूपन्देहीका बुटवल उपमहानगर र सैनामैना क्षेत्र बढी जोखिममा छन्। सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी नगर क्षेत्रमा समेत डेँगुका बिरामी भेटिएका छन्।
सरकारी तथा निजी अस्पतालमा दैनिक तीन जनामा संक्रमण देखिएकाले डेँगु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिएको छ। 

‘खोज र नष्ट गर’ अभियान नगर क्षेत्रबाट सुरु भएको जिल्ला जनस्वास्थ्य प्रमुख केयरसिंह गोदारले बताए। ‘स्वयंसेविकाहरूलाई परिचालन गरेर डेँगु र त्यसका लार्भा फूल नष्ट गर्ने अभियान सुरु भएको छ’, उनले भने।

डेँगुको उपचार विधि नभएकाले लामखुट्टेबाटै बच्ने उपाय अपनाउनुपर्ने भन्दै जनस्वास्थ्यले नगरपालिकाहरूसँग समन्वय गरेर लार्भा नष्ट गर्ने अभियान थालेको हो। बुटवलमा टोल–टोलमा नष्ट गर्ने अभियान सुरु हुने नगर प्रमुख शिवराज सुवेदीले बताए।

रूपन्देहीमा एक सातासम्म घरदैलो अभियान चलाइएको छ। प्रत्येक घरमा पुगेर सफा पानी जम्ने भाडा र स्थलहरू नष्ट गरिनेछ। 

डेँगुको संक्रमण बढेपछि रगतको अभावसमेत सुरु भएको छ। लुम्बिनी अञ्चल अस्पताल, युनिभर्सल मेडिकल कलेज, बुटवल हस्पिटललगायतका स्वास्थ्य संस्थामा डेँगुका बिरामी उपचारमा रहेका छन्। कतिपयलाई काठमाडौँ पठाइएको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.