|

काठमाडौं : हङकङसँग पराजित भएपछि नेपाल आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपको शीर्ष ४ मा पर्दै विश्वकप छनोट खेल्ने सम्भावना निकै कमजोर बनेको छ। हङकङको मिसन रोड मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपाल ८३ रनले पराजित भयो। यससँगै नेपाल अब आफ्नो बाँकी खेल जितेर मात्र शीर्ष चारमा पर्न सक्नै छैन। अन्य टिमको नतिजा पनि आफू अनुकुल आउनुपर्ने हुन्छ।

१९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा १११ रन जोड्दा अलआउट भयो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६, आरिफ शेखले २३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले २१ रनको योगदान गरे। यसका अलावा विनोद धण्डारीले १८ र सोमपाल कामीले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। हङकङका इसान खानले ५ तथा अजिज खानले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली निर्धारित ५० ओभरमा १९४ रन जोड्दा अलआउट भएको थियो। उसका लागि विकेट किपर ब्याट्सम्यान जिमी अट्किन्सनले ७६, तनविर अफजलले ३८ तथा कप्तान बबर हयातले २९ रनको योगदान गरे। यसका अलावा वाकस खानले १४, इसान नवाजले १६ र निजाकट खानले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले ३, वसन्त रेग्मी र करण केसीले समान २ तथा सुशान भारीले १ विकेट लिए। अन्य २ ब्याट्सम्यान रनआउट भए।

८ टीम सहभागी प्रतियोगितामा ८ अंकसहित नेपाल छैटौं स्थानमा छ। यो जितसँगै १३ अंक जोड्दै हङकङ चौंथो स्थानमा उक्लिएको छ। नेपालले अब हङकङसँग १ र युएईसँग २ खेल खेल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.