|

काठमाडौं : विधानतः १५ सदस्यीय संसदीय समिति गठन गर्न सक्ने प्रावधान भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए। तर, वरिष्ठ भएर पनि डा.शेखर कोइराला समितिमा नपरेपछि कोइराला परिवारमै हल्लीखल्ली भयो।

कांग्रेस महामन्त्री डा.शशांक कोइराला उम्मेदवार छान्ने समिति बैठकमै गएनन्। लगातार कोइराला बैठकमा नगएपछि देउवाले शनिबार समितिमा डा।शेखर कोइराला, मानबहादुर विश्वकर्मा, डा मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर र एनपी साउदको नाम थप गरेका छन् । पाँचजना थपिएपछि संसदीय समिति २२ सदस्यीय पुगेको छ ।

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र क्षेत्रीय समितिलाई तीन–तीनजनाका दरले नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा माथि छ। ‘हामीले संख्या गनेका छैनौँ, तर तीन हजारभन्दा बढी सिफारिस भएर आएका छन्,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले भने।

समानुपातिकबाट सांसद बन्न एउटै निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि तीन हजार बढी सिफारिस भएपछि नामबारे अध्ययन गर्न संसदीय समितिले कार्यदल गठन गरेको छ । कार्यदलमा डा।रामशरण महत, डा।प्रकाशरण महत, महेश आचार्य र बालकृष्ण खाँण सदस्य छन् । ‘नाम धेरै आएपछि यिनै नामबाट वास्तविक उम्मेदवार खोज्ने सहजताका लागि हामीले कार्यदल गठन गरेका छौँ,’ कार्यदल सदस्य खाँणले नयाँ पत्रिकासँग भने, ‘सम्भावित उम्मेदवारबारे हामीले सिफारिस गरेपछि बोर्डले उम्मेदवारको अन्तिम टुंगो लगाउँछ।’

एमालेको आज बस्ने स्थायी समितिले टुंगो लगाउने

एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन ‘महाभारत’ देखिएको छ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७\८ गुना बढी संख्यामा सिफारिस आएको एमालेले जनाएको छ । बन्दसूची पेश गर्ने दिन आइतबारसम्म टुंगो लगाउने गरी स्थायी समितिमा औपचारिक छलफलसमेत भएको छैन।

समानुपातिकतर्फका सिफारिस भएर आएका दुई हजारभन्दा बढी नाम केन्द्रीय कार्यालयमा जम्मा भइसकेको छैन। सबैको नाम प्रस्ताव गरेर छलफल गर्दा लामो समय गुज्रिने देखिएपछि प्रदेश संयोजकहरूमार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट समानुपातिकतर्फका उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ। शुक्रबार राति अध्यक्ष केपी ओलीले प्रदेश संयोजक र मोर्चा संगठन प्रमुखबाट अन्तिम सम्भावित नामबारे ‘ब्रिफिङ’ लिएका छन्। शनिबार दिनभरिको गृहकार्यका आधारमा आइतबार बस्ने स्थायी समितिबाट टुंगो लगाएर बन्दसूची बुझाउने एमालेको तयारी छ।

‘देशभरिबाट आएका सिफारिसका आधारमा छनोटका लागि पार्टीले आवश्यक अन्तिम गृहकार्य गरिरहेको छ,’ संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘स्थायी समितिको बैठकअघि सातवटै प्रदेश कमिटीका संयोजकसँग आवश्यकताअनुसार पार्टी अध्यक्षले परामर्श गरिसकेका कारण त्यसअनुसारकै गृहकार्य भइरहेको छ, यी सबै कुराका आधारमा स्थायी समितिको आइतबारको बैठकमा थप छलफल हुनेछ।’ अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई प्रदेश संयोजकहरूले नियमित ‘ब्रिफिङ’ गरिरहेका छन्।

माओवादी केन्द्रसहित साना वाम दलसँग तालमेल गर्ने निश्चित भएका कारण अरू दललाई दिइने क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारलाई के गर्ने भन्ने विषय पनि एमालेभित्र टाउको दुखाइको विषय बनेको छ। कतिपयलाई प्रतिनिधिसभा या प्रदेश सभातर्फ समानुपातिकको सूचीमा समावेश गर्नैपर्ने दबाबमा शीर्ष नेताहरू परेको एक नेताले बताए। विशेषगरी एक सातादेखि अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलको निवासमा प्रत्यक्ष र समानुपातिकतर्फका सयौं उम्मेदवारले दलबलसहित भेटेरै छनोटमा पार्न दबाब दिइरहेका छन्।

अध्यक्ष ओली, नेता नेपाल, उपाध्यक्ष गौतम, महासचिव पोखरेललगायत नेताले निकटस्थमार्फत समानुपातिक र प्रत्यक्षतर्फका छुट्टाछुट्टै लिस्टको समेत तयारी गरिरहेका छन्। तलैबाट समूगत हिसाबले पनि उम्मेदवार सिफारिस भएपछि आ–आफ्नो समूहतर्फको सूचीमा र अर्को सूचीमा पर्न पनि आकांक्षीहरूले नियमित ‘लबिङ’ गर्दै आएका छन्।

एमालेबाट केन्द्रीय तहका अधिकांश नेता प्रत्यक्षतर्फ सिफारिस भएका छन् । यद्यपि, स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्यहरू ईश्वरी रिजाल, रामकुमारी झाँक्री, केदार न्यौपाने र सुजिता शाक्यको नाम समानुपातिकतर्फ सिफारिस भएको छ।

माओवादी कार्यदलले सर्ट लिस्ट गर्दै

माओवादी केन्द्रलाई प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ। आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आइतबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताइन् । ‘पार्टीले समानुपातिक लिस्ट तयार गर्न कार्यदललाई जिम्मेवारी दिएको छ,’ भुसालले भने, ‘प्रदेश सभाबाट अनुमोदन भएपछि कार्यदलले अन्तिममा फाइनल गर्नेछ।’

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटा निर्वाचन क्षेत्रबराबर तीनजना सिफारिस गर्न सकिने जनाएको छ। माओवादी केन्द्रबाट एउटा निर्वाचन क्षेत्रले १० देखि १५ जनासम्मको नाम सिफारिस भएको एक नेताले बताए। जिल्लामा विवाद नमिलाई धेरैजनाको नाम सिफारिस गर्दा फाइनल गर्न समस्या भएको हो। वाम तालमेल हुने भएकाले समानुपातिकमा बस्न चाहनेको संख्या वृद्धि भएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ दाङबाट रेखा शर्मा, बाँकेबाट पूर्णकुमारी सुवेदी, रोल्पाबाट सभामुख ओनसरी घर्ती र जयपुरी घर्ती, प्युठानबाट मणि थापा, तनहुँबाट सुरेश आलेमगर, बाँकेबाट तिलक परियारको नाम सिफारिस भएको छ। प्रदेश सभाका लागि जाजरकोटबाट कालिबहादुर मल्ल र डोल्पाबाट सत्या पहाडीको नाम सिफारिस भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.