|

काठमाडौं : अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट नेपालमा अवैध क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार भइरहेको पत्ता लागेको छ। संसारको कुनै पनि राज्यले स्वामित्व नलिएको, कुनै पनि निकायमा सुरक्षण नभएको तथा नेपालमा प्रतिबन्धित यस्तो मुद्रा इन्टरनेटमा खरिद बिक्री गरेर फाइदा लिने गरिएको छ।

कुनै जमानामा गोल्डक्वेस्ट र पछि युनिटीजस्तै गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख छ। बिट क्वाइनको कारोबारलाई नेपाल सरकार र राष्ट्र बैंकले अबैध भनेका छन्। निरन्तर समाचार आएपछि यसका ७ जना कारोबारी पक्राउ परेका छन्। बिट क्वाइन माइनिङ (उत्पादन) भइरहेको कार्यशालामा पनि प्रहरीले हस्तक्षेप गरिसकेको छ।

‘भर्चुअल मनि’ किन बेच गरेर जुवाको शैलीमा फाइदा लिनेहरुले फैलाएको यो कारोबारमा ई–सेवाको सहकार्य रहेको तथ्य बिट सेवाको आधिकारीक वेवसाइटमा नै उल्लेख छ। तर, फलोअप समाचार र प्रहरी हस्तक्षेप बढेपछि बिट सेवाको अनलाइन अचानक ‘डाउन’ गरिएको छ।

नेपालमा ई–सेवा र लन्डनमा केन्द्रीय कार्यालय रहेको अनलाइन पेमेन्ट गेटवे ‘स्क्रिल’ बाट बिट क्वाइनको कारोबार हुदैं आएको छ। स्क्रिलले बिटक्वाइन स्वीकार गर्दछ भने ई–सेवाले डलर र नेपाली रुपैयाँ स्वीकार गरी बिटक्वाइन खरिदको सुविधा दिने गरेको छ। केही बैंकले पनि विट क्वाइनका कारोबारीको रकम आदान प्रदान गराइरहेको भेटिएको छ। तर उनीहरुमाथि राष्ट्रबैंकको नजर परेको छैन।

बिटक्वाइन खरिद गर्न इ–सेवा

बिट सेवाबाट बिटक्वाइन किन्न सबैभन्दा पहिला एकाउन्ट बनाउनुपर्छ। एकाउन्टमा ‘बाइ बिटक्वाइन’ बटन थिचेपछि कति रकमको बिटक्वाइन खरिद गर्न खोजेको हो, छान्न सकिन्छ। त्यसपछि ‘रिसिभ बिटक्वाइन टु माइ वालेट एड्रेस’मा पुगिन्छ।

जहाँ बिटक्वाइनको वालेट एड्रेस हालेपछि क्यास इन पर्सन (व्यक्तिलाई रकम दिने), ई–सेवा, स्क्रिल वा बैंक डिपोजिट गर्ने हो भन्ने अप्सन देखिन्छ। तीमध्ये ई–सेवा सेलेक्ट गरी ‘बाइ बिटक्वाइन’मा क्लिक गरेपछि बिटक्वाइन खरिद गर्न सकिन्छ। बिट सेवाको फेसबुक मेसेन्जरमा अर्डर नम्बर पठाएर कारोबार सम्पन्न गर्न सकिन्छ। 

यसैगरी बिटक्वाइन बेचेर वालेटबाट नेपाली रुपैयाँ पनि प्राप्त गर्न सकिन्छ। आफ्नो बिट बिटक्वाइन स्क्रिलको वालेटमा अपलोड गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.