|

बारा : मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले समानुपातिकतर्फ ९२ जनाको नाम सिफारिस गरेको छ। ४ प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा सदस्यका लागि बारामा एमालेले प्रतिनिधिसभाका लागि १७ र प्रदेशसभाका लागि ७५ जनाको नाम सिफारिस गरेको हो।

उम्मेदवारको नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा सिफारिस भइसकेको र आइतबार अन्तिम नाम बन्दसूचीमार्फत निर्वाचन आयोगमा पेश हुने एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिए। आकांक्षी धेरै भएकोले तलबाट आएका नाम सामान्य परिमार्जन गरी प्रदेश कमिटीमा सिफारिस गरिएको थियो।

यसरी सिफारिस गरिएका उम्मेदवारहरूमा पार्टीका केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज बलवीरप्रसाद चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज दिनेश राई, प्रदेश कमिटी सदस्यहरु छविलाल उप्रेती, सीता गुरुङ, विक्रम राम, केन्द्रीय निर्वाचन विभाग सदस्य रफिक अन्सारी, पलट चौधरी र किशोर शर्मा छन्।

पूर्व परिषद् सदस्य श्रीप्रसाद पासवान जिल्ला निर्वाचन सभापति राधेश्याम शिवाकोटी, जिल्ला सचिवालय सदस्य नारायण गौतम, आनन्द थामी पनि सिफारिस भएका छन्। त्यस्तै सिफारिस हुने जिल्ला सदस्यहरु गौरी ढकाल, भरत साह, मालती कुशवाहा, प्रमिला पटेल र दुर्गा कोइरालालगायत छन् ।

सिफारिस सूचीमा रहेका बलवीर चौधरी सासंद् हुन्। उनले प्रत्यक्षमा चुनाव नलड्ने भन्दै समानुपातिक सूचीमा नाम सुरक्षित गरेका हुन्। त्यस्तै सीता गुरुङ २०७० को संविधानसभा निर्वाचनमा समेत समानुपातिक सूचीमा भए पनि सभासद् बन्न पाएकी थिइनन्। त्यस्तै श्रीप्रसाद पासवान २०६४ मा एमाले र २०७० मा तत्कालीन एकिकृत माओवादीबाट बारा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.