|

काठमाडौं: विश्व हिन्दू परिषद् नेपालले विभिन्न सञ्चार माध्यममा कार्यरत १२ पत्रकारलाई सम्मान गरेको छ। 

परिषद्ले आज आफ्नै कार्यालय वसुन्धरामा एक कार्यक्रम आयोजना गरी नेपालको सूचना र सञ्चारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै ती पत्रकारलाई सम्मान गरेको हो। 

सम्मानित हुनेमा राष्ट्रिय समाचार समिति (रासस) का अच्युत रेग्मी, रासस र थाहाखबर डट कम अनलाइनकी लक्ष्मी गारु, हिमशिखर टेलिभिजनका विनोदकुमार कटुवाल, न्युज एजेन्सी नेपालका मेननराज राजभण्डारी, गौरी मासिक पत्रिकाका अर्जुन लामिछाने र थाहाखबर डट कमका फोटो पत्रकार दीपक केसी रहेका छन्। 

यस्तै, नेपाली हिमालय टाइम्स पत्रिकाका फोटो पत्रकार नवराज श्रेष्ठ, एकल समाचार मासिकका राजाराम दास, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार भगवती क्षेत्री, अंग्रेजी हिमालय टाइम्सका फोटो पत्रकार बालकृष्ण थापा, मिडिया एनपीका फोटो पत्रकार खिलराज विमली र रिपोर्टर्स क्लब अनलाइनका पत्रकार धनराज वास्तविक सम्मानित भएका छन्। 

सम्मानित पत्रकारलाई परिषद्का अध्यक्ष टीकाबहादुर पहारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगर र राष्ट्रिय अनलाइन फोटो पत्रकार समूहका सचिव प्रदीपराज वन्तले संयुक्त रूपमा सम्मान गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष थापामगरले घामपानी नभनी विभिन्न क्षेत्रमा घटेका घटनालाई आम जनसमक्ष सूचना पुर्‍याउने पत्रकारलाई सम्मान गरेर परिषद्ले राम्रो काम गरेको बताए। उनले भाषा, साहित्य, धर्म, संस्कृति नेपालको गहना भएकाले यसलाई बचाउने जिम्मा सञ्चारकर्मीको रहेको उल्लेख गरे। 

अनलाइन फोटो पत्रकार समूहका सचिव वन्तले परिषद्ले नेपालको सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। 

जनकल्याण प्रतिष्ठानका महासचिव महावीर घिरैयाले प्रतिष्ठानले परिषद्सँग मिलेर १२ अञ्चल, ५२ जिल्लाका दुई हजार २०० गाउँमा समाजसेवाको काम गरिरहेको जानकारी दिए। 

परिषद्का अध्यक्ष पहारीले सांस्कृतिक रूपमा धनी रहेको मुलुकको विकासका लागि र धर्म संस्कृति र परम्परालाई जोगाउन सञ्चारकर्मीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

हेर्नुहोस् फोटा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.