|

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताएका छन्।

सोमबार बिहान अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकताबारे पार्टीपंंक्तिमा अन्योल रहेको बताएका थिए। ‘एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ? महान् जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन? बेपत्ताहरुको सम्मान कसरी हुन्छ? जस्ता प्रश्न उठाउनु भएको छ’, प्रचण्डले भने, ‘जनयुद्धसहित इतिहासका यी सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र इतिहासमा भएका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ।’

समाजवाद स्थापना कम्युनिस्टहरुको मिसन रहेको प्रचण्डको भनाइ थियो। उनले भने, 'समाजवादको तयारी हाम्रो मिसन हो, त्यही मिसनमा जाने एकरुप समझदारीका साथ पार्टी एकता गर्ने भनेका छौं।’ उनले एउटामात्र कम्युनिष्ट पार्टी भयो भने समाजवादमा पुग्न सजिलो हुने बताए।

उनले एकताको सहमतिपत्रमा समाजवादी मिसनका आधारमा एकता गर्ने, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्यायजस्ता मुद्दाहरु संस्थागत गर्ने, उत्पीडित वर्ग, जाति र समुदायका जायज मागहरु सम्बोधन गर्न लोकतान्त्रिक, शान्तिपूर्ण र कानूनी संघर्षको बाटो अख्तियार गर्ने रहेकोले एकताप्रति आशंका नगर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.