|

काठमाडौं : विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सोमबार नेपाली कांग्रेसमा समाहित भयो। पार्टी एकीकरण घोषणासभामा गच्छदारलगत्तै बोल्ने पालो आयो वरिष्ठ नेता रामचन्द्र पौडेलको। उनले वाम गठबन्धनका नाममा ध्रुवीकरण गराउने र प्रजातन्त्रलाई मास्न खोज्नेविरुद्ध एक भएर लाग्नुपर्ने बताए।

गच्छदारको पार्टी कांग्रेसमा मिसिँदा आफूहरूको अभियानमा बल पुग्ने बताए। तर, एकीकरण हुँदै गरेको गच्छदारको पार्टीको नाम सही उच्चारण गर्न जानेनन्। ‘संघीय लोकतान्त्रिक’ भन्ने शब्दावली दुईपटक उच्चारण गरे, फेरि ‘नेपाल लोकतान्त्रिक’ मात्रै भन्दा अलमलिए।

फेरि सुधार्न खोज्दा ‘नेपाल संघीय लोकतान्त्रिक फोरम’ भने यतिखेरसम्म हलमा हाँसो गुन्जिसकेको थियो। पौडेलले पार्टीको नाम भन्न नसकेपछि हलबाट केही सहभागीले सही नाम भनिदिएपछि पौडेलले पाँचौँपटकमा ‘नेपाल लोकतान्त्रिक फोरम’ भने। आफ्नै पछिल्ततिर ब्यानरमा पार्टीको नाम उल्लेख भए पनि उनले त्यता ध्यान दिएनन्।

गणेश लामाले सुरक्षाकर्मीको आग्रह नकारे

देउवा, पौडेल, गच्छदारसहित शीर्ष नेताको ठीक पछाडिपट्टि गणेश लामा बसेका थिए। पछाडिपट्टिको दाहिने लहरमा फोरमका नेता लहरै बसेका थिए। उनीहरू मुस्किलले अटाएको देखिन्थ्यो। यस्तोमा सुरक्षाकर्मीले लामालाई उठेर छेउतिर गइदिन आग्रह गरे पनि उनले पटक–पटक नकारिरहे। गुन्डा नाइके पृष्ठभूमि हुँदै फोरम पुगेका लामालाई प्रधानमन्त्रीको पछाडि बस्न नदिने सुरक्षाकर्मीको प्रयास असफल भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.