|

केन्द्र र प्रदेशको मतपत्र अलगअलग हुनुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटका कारण मुलुको राजनीतिमा हलचल पैदा गरेको छ। यो रिटमा निवेदवकको पक्षमा फैसला भए तोकिएको समयमा चुनाव गर्न सक्ने स्थिति नरहेको भनाइ निर्वाचन आयोगको छ। यही बहानामा सरकारले चुनाव सार्न चाहेको हुनसक्ने आशंका एमाले र माओवादी केन्द्रका नेताहरुले गरिरहेका छन्। रिटको छिनोफानो बुधबार हुँदैछ। यो रिट किन दायर गर्नु पर्यो भनी थाहाखबरले पूर्वमन्त्री एवं राजपा नेता सर्वेन्द्रनाथ शुक्लसँग गरेको कुराकानी:

संघीय संसद र प्रदेशको अलगअलग मतपत्रको माग गरेर के चुनाव सार्न खोज्नु भएको हो?

होइन। मेरो नियत चुनाव सरोस् भन्ने हुँदै होइन। चुनावमा मतदातालाई सजिलो होस् भन्ने मात्र हो। मेरो माग त समयमा चुनाव होस् भन्ने हो।

दुइटा मतपत्र हुँदैमा के फरक भयो र?

प्रदेशसभा र प्रतिनिधसभा दुई अलगअलग निकाय हो। दुईटैमा सरकार बन्छ। कुन सभामा कसलाई पठाउने र कुन सरकार छान्ने जनतालाई स्वतन्त्रता हुनुपर्छ। दुइटै मतपत्र एउटैमा छाप्दा जनतामा भ्रम सिर्जना गर्छ। अशिक्षित मतदातालाई कुन प्रदेशसभा र कुन प्रतिनिधिसभा छुट्याउन गाह्रो हुन्छ। त्यसैले मतपत्र अलगअलग हुनुपर्छ र निर्वाचन समयमा हुनुपर्छ। अन्तर्राष्ट्रिय अभ्यास पनि अलगअलग निकायका अलगअलग मतपत्र हुने देखिन्छ। कही नभएको अभ्यास हाम्रोमा किन गर्ने?

अहिले यस्तो बखेडा झिकेर निर्वाचन समयमा कसरी हुनसक्छ?

यो बखेडा हुँदै होइन। यो जनताले आफ्नो प्रतिनिधि चुन्ने अधिकारी सहज रुपमा पाउन् भन्ने मात्र हो। अनि यो रिट दशैंभन्दा अगाडि नै सर्वोच्च अदालतमा दायर गरिएको हो।

राजनीतिक समाधानको खोजी नगरी एकैचोटी सर्वोच्च अदालत जानुले तपाईंहरुको नियत चुनाव सार्ने नै हो भन्ने बुझियो नि?

त्यो हुँदैहोइन। सर्वोच्च अदालत जानुभन्दा अघि हामीले निर्वाचन आयोगलाई अलगअलग मतपत्रको माग गर्दै ज्ञापनपत्र दिएर आग्रह गरेका थियौं।

अहिले तपाईंको माग पूरा गर्दा त चुनाव तोकिएको समयमा हुन संभव देखिदैन नि?

हामीले ध्यानाकर्षण गरेकै समयमा भए सजिलै चुनाव गर्न सम्भव थियो। अहिले पनि असंभव देखिदैन। मतपत्र छपाईको एउटा काममात्र व्यवस्थापन गर्ने हो। निर्वाचन आयोगले यो व्यवस्थापन गर्न सक्छ जस्तो लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.