|

काठमाडौं : यमपञ्चकको दोस्रो दिन कुकुरतिहार। यो दिन कुकुरलाई पूजा गरी खानेकुरा ख्वाउने परम्परा छ। 

कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा यमलोक जाँदा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका दुई कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको धर्मशास्त्रका ज्ञाता प्रा.डा. देवमणि भट्टराई बताउँछन्।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्। उच्च सुँघ्नसक्ने क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ।  यिनै बहुगुणका कारण कुरकुरको पूजा गरिएको भट्टराई बताउँछन्। 

चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पनि छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.