|
File Photo ThahaKhabar

काठमाडौं : उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्।

ऊर्जा मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै उनले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताए।

“त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौँ, अहिले पनि सरकारको साझेदार दल माओवादी प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हौँ” पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले भने।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता आफूसँग पटक पटकको भेटमा जनाएको बताउँदै भने, “प्रधानमन्त्री देउवाको जानकारीमा चुनाव नगराउने षड्यन्त्र भइरहेको सूचना आएपछि उहाँकै आग्रहमा चुनावको वातावरण नबिगार्न आफ्नो दल सरकारमा सहभागी भएको हो।”

चुनावसम्म अहिलेकै कार्ययोजना अघि बढाउने, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युत् भार कटौती (लोडसेडिङ) हुन नदिने, हाल सञ्चालित आयोजनालाई निरन्तरता दिनेलगायत योजनाका बारेमा जानकारी दिदैं उपप्रधानमन्त्री थापाले अन्य दलले जस्तोसुकै गठबन्धन गरेर सरकारमा गए पनि चर्चा नहुने तर राप्रपा सरकारमा जाने बित्तिकै विभिन्न खाले हल्ला चलाइने गरेको बताए।

वि.सं. २०६२-६३ को परिवर्तनपछि राप्रपा तेस्रोपटक सरकारमा सहभागी भएको छ। वाम गठबन्धपछि प्रजातान्त्रिक शक्तिका बीचमा सहकार्य र एकता अनिवार्य बन्न गएको पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.