|

  • कर्ण चन्द-

डोटीः सरकारले हचुवाको भरमा स्थानीय तहहरूलाई पिछडिएका क्षेत्र निर्धारण गरेको भन्दै डोटीमा व्यापक आलोचना भएको छ।

पिछडिएका क्षेत्र भन्दै सरकारले ५७ स्थानीय तहको सूचीमा डोटीका दुई स्थानीय तहहरू पूर्वीचौकी गाउँपालिका र आदर्श गाउँपालिकालाई राखेपछि डोटीमा विरोध भएको हो। सरकारले पिछडिएको क्षेत्र तोकेको आदर्श गाउँपालिकाका ७ वडाहरूमध्ये ६ वडाको केन्द्रमा यातायात, विद्युत पुगेको छ। यस्तै, स्नातक तहसम्मको क्याम्पसलगायतका अन्य भौतिक पूर्वाधार पनि निर्माण भएका छन्। 

पिछडिएको क्षेत्रमा परेको अर्को पूर्वीचौकी गाउँपालिकाको केन्द्र सिलगढी साँफे राजमार्गमा पर्दछ। उक्त सडकले गाउँपालिकाका चार वडाहरूलाई छोएको छ। गाउँपालिकाका ७ वडामध्ये ६ वडाको केन्द्रमा सडक सुविधा पुगेको छ। दुवै गाउँपालिका जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकासँग जोडिएका छन्। होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपक खड्का भन्छन्, ‘सदरमुकामबाट पाँच किलोमिटरको दूरीमा रहेको स्थान पिछडिएको क्षेत्र भएछ अनि ५० किलोमिटरको दूरीमा रहेको बोगटान क्षेत्र सुगम भएछ।’ उनी यो वर्गीकरण अवैज्ञानिक भएको बताउँछन्। 

पूर्वीचौकीका स्थानीय बासिन्दासमेत रहेका गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायत यो वर्गीकरणले आफूहरूको अपमान भएको महसुस गरेको बताउँछन्। उनी भन्छन्, ‘हामी जिल्ला सदरमुकामसँगै जोडिएका छौँ, पूर्वाधारका दृष्टिले, उत्पादनका दृष्टिले, भौगोलिक सामीप्यका दृष्टिले हामी जिल्लाका अन्य क्षेत्रको तुलनामा अगाडि छौँ तर हामीलाई पिछडिएको क्षेत्रमा राखिएको छ।’ 

सायल गाउँपालिका– २ का दीर्घ ओझा सरकारलाई सुगम केलाई भन्ने र पिछडिएको क्षेत्र केलाई भन्ने विषयमा पनि जानकारी नभएको बताउँछन्। उनी राजनीतिक दलका नेताहरूप्रति आक्रोश पोख्दै भन्छन्, ‘यस्ता हर्कत गर्ने नेताहरूलाई चुनावमा बहिष्कार गरिन्छ।’ सायल क्षेत्रलाई दुर्गम मानिन्छ। 

बढीकेदार, बोगटान र सायल गाउँपालिका पिछडिएको क्षेत्रमा पर्नुपर्नेमा सबै कुराले अगाडि रहेका स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राखिनु दुःखद् भएको पत्रकार टेकेन्द्र देउवा बताउँछन्। उनी व्यंग्य गर्दै भन्छन्, ‘देशलाई स्विट्जरल्याण्ड बनाउने भन्थे, डोटीबाटै सुरु गरेछन् कि क्या हो, रातारात दुर्गमलाई सुगममा राखेछन्!’ 

सरकारको उक्त निर्णयको सामाजिक सञ्जालमा समेत व्यापक रूपमा आलोचना भइरहेको छ। 

जिल्ला समन्वय समितिलाई जानकारी छैन 
सरकारले कुन मापदण्डका आधारमा डोटीका दुई स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राख्यो भन्ने आफूलाई जानकारी नभएको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले बताए। ‘मैले हामी आउनुभन्दा अगाडि भएका कार्यालयका निर्णयहरू हेरेँ, कुनै बैठकमा पनि त्यस्तो निर्णय भएको छैन’, टेलिफोनमा कुरा गर्दै प्रमुख ऐरले भने, ‘जिल्ला समन्वय समितिको कार्यालयबाट त्यस्तो निर्णय भएको छैन।’ 

भौगोलिक दूरीका आधारमा भन्दा पनि मानव सूचकांकको आधारमा गरेको भन्ने सुनेको ऐरले बताए। उनले भने, ‘मानव सूचकांककै आधारमा भएको हो भने पनि यो त्यति विश्वासिलो वर्गीकरण भएन, किनकि हाम्रो जिल्लामा यी दुई स्थानीय तहमा बसोवास गर्ने जनताभन्दा पनि पिछडिएका समुदाय छन्।’ 

जिल्ला समन्वय समितिको बैठक बसेर यस विषयमा छलफल गरी मन्त्रालयमा पठाउने ऐरले जानकारी    दिए। उनले भने, ‘यो गम्भीर विषय हो, जिल्लाको समग्र अवस्था अध्ययन नगरी हचुवाको भरमा यस्तो निर्णय गर्नु उपयुक्त हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.