|

काठमाडौं : १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताले मताधिकार प्रयोग गर्दै छन्। ५ भदौमा १८ वर्ष उमेर पुगेका र फोटोसहित मतदाता नामावली दर्ता गराएकाहरूको नाम निर्वाचन आयोगले टुंगो लगाएको हो।

आयोगका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभा ७४ निर्वाचन क्षेत्रका ३२ लाख २८ हजार आठ सय ७९ जना मतदाताले मताधिकारको प्रयोग गर्न पाउनेछन्। त्यसैगरी, आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि देशभर १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

समानुपातिक निर्वाचनका मतपत्र छापिँदै

आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र छापिइरहेको छ। प्रमुख आयुक्त डा‍. अयोधीप्रसाद यादवका अनुसार ९० लाख मतपत्र छापिसकिएको छ। समानुपातिक निर्वाचनका लागि १ करोड ८० लाख मतपत्र आवश्यक पर्छ। ७ कात्तिकभित्र समानुपातिक निर्वाचन प्रणालीका आवश्यक मतपत्र छापेर ८ कात्तिकबाट प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छाप्न सुरु गर्ने तयारी आयोगको छ।

मतदान शिक्षाका लागि २० हजार कार्यकर्ता

आयोगले एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता पठाउने तयारी गरेको छ। आयोगका अनुसार २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ। उनीहरूमार्फत यसपटक स्थानीय तहमा भन्दा बढी नमुना मतदान गराउने तयारी आयोगको छ। आयोगले १६ भाषामा मतदाता शिक्षा प्रदान गर्दै छ। स्थानीय तहमा १३ प्रतिशत मत बदर भएपछि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा कम मत बदर होस् भनेर नमुना मतदान धेरै गराउन लागेको आयोगको भनाइ छ।

यस्ता हुनेछन् मतपत्र 

आयोगका अनुसार समानुपातिक तथा प्रत्यक्ष निर्वाचनको मतपत्र छुट्टाछुट्टै हुनेछ। दुवै निर्वाचका लागि एकै प्रकारको ढाँचा तयार गरिएको छ। एउटै पानाको माथिल्लो भाग मतपत्र १ उल्लेख हुनेछ। मतपत्र १ उल्लेख भएको भाग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुनेछ। त्यसैगरी, सोही पानाको तल्लो भागमा मतपत्र २ उल्लेख हुनेछ र त्यो भाग प्रदेशसभा सदस्य निर्वाचनका लागि हुनेछ। यादवका अनुसार समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिनेछ भने प्रत्यक्ष निर्वाचनका लागि मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.