|

  • मिलन विक

पाल्पा : पाल्पाका महिला झिनिया बनाएर लाखौं आम्दानी गर्न सफल भएका छन्। हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा राम्रो कारोबार भएपछि यहाँका महिला झिनिया बनाउन आकर्षित भएका हुन्।

तिहारको बेला झिनिया विशेष परिकारका रुपमा प्रयोग हुन्छ। दिदीबहिनी दाजुभाइलाई टीका लगाइदिन जाँदा झिनिया कोसेलीको रुपमा लैजाने गर्छन्। साथै साना बालबालिकाले समेत रंगिविरंगी झिनिया खान रुचाउँछन्।

रामपुर नगरपालिका वडा नम्बर– ५ राङ्भाङकी मैयाँ श्रेष्ठले झिनिया बेचेर झण्डै डेढ लाख आम्दानी गरेको बताइन्। ‘विगतका वर्षहरुबाट नै तिहारका बेला झिनिया बनाउदै आएकी छु,’ उनले भनिन्, ‘घर खर्च चलाउन अरुको भर पर्नुपर्ने अवस्था छैन।’

रामपुर नगरपालिका ४ मटेरीकी लक्ष्मी श्रेष्ठले पनि झिनिया बेचेर तिहारको समयमा साढे २ लाखसम्म आम्दानी गरेको बताइन्। उनका अनुसार अहिले दैनिक ३ सय दर्जनभन्दा बढी झिनिया बिक्री हुन्छ। जिल्ला सदरमुकाम तानसेन, रामपुरलगायतका विभिन्न ठाउँका महिलाले झिनियाको व्यापारबाट मनग्य आम्दानी हुने भएपछि अहिले यही काममा व्यस्त देखिएका छन्।

आफूहरुले बनाएका झिनिया पाल्पा, स्याङ्जा, बुटवललगायतका स्थानमा बिक्री हुँदै आएको स्थानीय महिलाहरु बताउँछन्। २५/३० हजारको लगानीमा घरमै बसीबसी लाखौँ आम्दानी गर्न सफल भएको उनीहरुको भनाइ छ। एक दर्जन झिनियालाई ६० देखि ७० रुपैयाँमा बिक्री हुन्छ। तिहारमा मात्र नभएर अन्य सामान्य दिनमा समेत झिनियाको कारोबार हुने गरेको छ।

झिनिया बनाउन घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले सामान्य तालिम पनि दिँदै आएको छ। आफूहरुले सामान्य तालिम दिँदै आएको कार्यालय प्रमुख बालकृष्ण गैरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.