दाङ : नेपालको मुख्य बाजाको रुपमा चिनिएको मादल सांस्कृतिक कार्यक्रमहरुमा प्राय छुट्दैन। तीज, तिहार, माघीमा मादलको बढी महत्व हुन्छ। बजारमा अनेक थरी इलेक्ट्रोनिक बाजा आएपछि यसको खोजी पहिलेजस्तो नभए पनि सांस्कृतिक कार्यक्रममा भने मादल प्राय छुट्दैन। ३६ वर्षदेखि यही मादल बजाएर जीविकोपार्जन गर्दै आएका छन् तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोलाका ६० वर्षीय कमानसिङ विश्वकर्मा।
२०३८ सालमा बाबुबाट मादल बजाउन सिकेका उनी नेपालीहरुका तिज, तिहार जस्ता नाच्ने गाउने पर्व सुरु भएपछि नयाँ मादल किन्ने र पुरानोको मर्मत गर्ने काम बढी आउने बताउँछन्। विश्वकर्माका अनुसार अहिले विभिन्न किसिमका इलेक्टेनिक्स बाजाहरु आएपछि मानिसहरुले मादलको प्रयोग कम गर्न थालेका छन्। यस्तै अवस्था रहेमा व्यावसायिक रुपमा मादल बनाउने पेसा संकटमा पर्ने उनको भनाइ छ। आफूले रोजीरोटीका लागि भन्दा पनि मादल जोगाउन पेसालाई निरन्तरता दिएको कमानसिंह बताउँछन्।
अहिले समुदायले मादल बनाउन छोडे पनि आफूले नछोड्ने र पछाडिका पुस्तालाई यो कला र सीप हस्तान्तरण गर्न चाहेको विश्वकर्माको भनाइ छ। विश्वकर्माले अहिले तिहारको समयमा मादल बनाएर मनग्य आम्दानी गर्छन् भने अन्य समयमा आरन सञ्चालन गर्दै आएका छन्। अन्य चाडपर्वमा भन्दा तिज, तिहार, माघीमा मादल बनाउने र किन्न आउनेहरु धेरै हुने भएकाले आम्दानी राम्रै हुने विश्वकर्माले बताए।
उनले एउटा मादल मर्मत गरेको ५ सय देखि १ हजारसम्म लिँदै आएका छन्। मादल बनाउने पेसालाई व्यावसायिक बनाउन आधुनिक औजार प्रविधिको खाँचो रहेको विश्वकर्माको भनाइ छ। उनले भने 'मानिसहरु घर भन्दा बाहिर गएर धेरै दुख्ख कष्ट बेर्होर्छन्, तर सीप सिक्ने हो भने घरमै बसीबसी राम्रो आम्दानी गर्न सकिन्छ। पुस्तौंदेखि नै हाम्रो घरपरिवारमा यो पेसा अँगाल्दै आइएको छ।’ पेसा सजिलो, आयआर्जन हुने र स्थानीय स्तरमै कच्चा पदार्थ समेत उपलब्ध हुने भएका कारण निरन्तरता दिने विश्वकर्माले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।