|

काठमाडौं : कालिकोटबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने चर्चामा रहेका विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।

नेकपा माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दल नेकपा एमालेसँग छलफल गरेर शाहीलाई प्रदेश नम्बर ६ को भावी मुख्यमन्त्रीको उम्मेदवार निर्णय गरेपछि शाही प्रदेशबाट चुनाव लड्ने भएका हुन्। यससँगै शाहीले कालिकोटको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारी दिनेछन्। शाहीलाई यसअघि वाम गठबन्धनले प्रतिनिधिसभाका लागि साझा उम्मेदवारका रुपमा अघि सारेको थियो।

मन्त्री शाही मुख्यमन्त्रीका लागि प्रदेशसभा सदस्यमा चुनाव लड्ने भएपछि प्रतिनिधिसभा सदस्यका लागि दुर्गबहादुर रावतले टिकट पाउने भएका छन्। प्रतिनिधिसभाकै टिकटका लागि लबिङ गरेका राउतलाई यसअघि पार्टीले प्रदेशसभा (क) मा चुनाव लड्ने गरी टिकट दिएको थियो। राउतको ठाउँमा अब एमालेका कुर्मराज शाही प्रदेशका लागि उम्मेदवार बन्नेछन्।

कांग्रेसले भने ६ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा हुम्लाका जीवनबहादुर शाहीलाई अघि सारिसकेको छ।

प्रदेशमा शाही हेबीवेट उम्मेदवार

माओवादीका ठूला नेताहरु प्राय: प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारीमा छन्। हालसम्म घोषणा भएमध्ये शाही प्रदेशमा बसेका माओवादीका हेबीवेट नेता हुन्। एकपटक फूल क्याबिनेट मन्त्री भइसकेका शाहीबाहेक प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीका लागि अघि सार्ने नेता नरहेको माओवादीकै नेताहरु बताउँछन्।

प्रदेश नम्वर ६ मा मुख्यमन्त्रीका लागि अनौपचारिक रुपमा रुकुमका गोपाल शर्मा र जुम्लाका नरेश भण्डारीको चर्चा भएपनि उनीहरुसँग मन्त्रिपरिषद्को अनुभव छैन। मन्त्री शाहीले उर्जा मन्त्रालयको जिम्मेवारी सम्मालिरहेका बेला गोपाल शर्मा गृहमन्त्रीका मुख्य स्वकीय सचिव थिए। जुम्लाका भण्डारी प्रथम संविधानसभा निर्वाचनमा निर्वाचित सभासद हुन्।

जनमुक्ति सेना नेपालको डिभिजन कमाण्डरको जिम्मेवारी सम्हालिसकेका शाही संविधानसभाको दोस्रो निर्वाचनमा कर्णालीबाट निर्वाचित माओवादीका एकमात्र नेता हुन्। आफैँ प्रस्तावक बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएपछि शाही एकाएक केन्द्रीय राजनीतिमा चर्चामा आएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.