|

  • भोजराज कार्की

सल्लेरी : हिमाली भेगमा लगिएको भेडीगोठ जाडो बढेसँगै विस्तारै तल्लो भेगमा झार्न थालिएको छ। यसवर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुङ्गाका भेडापालक कृषक जीतबहादुर गुरुङले बताए।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरुले पुस्तौँ अघिदेखि अंगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसायजस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने व्यवसायीहरु बताउँछन्। अहिले हिमालमा चिसो सुरु भएकाले मध्यपहाडी भेगका जङ्गलहरुमा अधिकांश भेडागोठहरु झर्दै गरेको पाइन्छ।

मुक्लीका पर्शुराम गुरुङले चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र फेरि गर्मी सिजन हुरु भएपछि क्रमशः फर्काउने बताए। ‘भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुदैन, तापक्रमअनुसार गोठ सार्नुपर्छ,’ उनले भने।

‘भेडा पालन पेसा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ,’ सोलुखुम्बुको सल्यान–५ का भेडापालक जकसेर राईले भने, ‘परिवार, चाडपर्व केही भन्न पाइन्न।’ भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेसानै संकटमा पर्दै जान थालेको पनि उनको भनाइ छ ।

मुख्यतः पूर्वी पहाडका गुरुङ जातिहरुको पुख्र्यौली पेसा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन्। एकदशक पहिलासम्म सोलुखुम्बु मुक्लिका करिब १० घरबढी गुरुङले व्यवसायकैरुपमा भेडापल गरेका थिए।

सधै भेडीगोठमा भेटिन उनीहरु यतिबेला घरैमा भेटिन्छ। त्याँहाका गुरुङ समुदायको भेडा काँकु बासा लगायत क्षेत्रका राई समुदायले पाल्दै आएका छन्। चरणका लागि माथिल्लो क्षेत्र खुल्ला हुने भए पनि तल्लो क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूहहरुले चरण उपलब्ध नगराउँदा समस्या हुने गरेको व्यवसायीहरु बताउँछन्। ‘सिजनअनुसार सबै क्षेत्रमा भेडा डुलाउनुपर्ने भए पनि केही समुदायिक वनमा चरिचरणमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ,’ मुक्लिका खड्गबहादुर गुरुङगले गुनासो गरे।

भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गरिन्छ। हिन्दू धर्मवालम्बीहरुका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुने भएकाले यसको महत्त्व रहेको बताइन्छ।

भेडाको ऊनको महत्व बढी भए पनि व्यवसाय नै संकटमा पर्न थालेकोप्रति चिन्ता व्यक्त हुन थालेको छ। भेडापलनका लागि चरण अभाव, व्यवसायप्रति युवापुस्ताको चासो क्रमैसंग घट्नुजस्ता विभिन्न चुनौती देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.