|

काठमाडौं:  पुनर्निर्माण प्राधिकरणले पछिल्लो ९ महिनाको समिक्षा गरेको छ। प्राधिकरणको कामबाट लाभग्राही सन्तुष्ट नदेखिएको र पुनर्निर्माणको  काममा पनि ढिलाई भए तापनि प्राधिकरण निर्देशक समितिको बैठकले काम रफ्तारमा भएको निष्कर्ष निकालेको छ।

'समग्र पुनर्निर्माण अवस्थालाई हेर्दा केही ढिलाई भएजस्तो देखिएपनि पछिल्लो ९ महिनाको बढ्दो अनुपातलाई हेर्दा निरास हुने अवस्था छैन' बैठमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भने। उनले यस्तै प्रकारको पुन निर्माणको काम भएको विश्वका विभिन्न देशको तुलनामा नेपाल अघि भएको दाबी समेत गरेका छन्। 'इन्डोनेशियामा पुनर्निर्माण शुरु भएदेखी स्थायी संरचनामा निर्माण सम्पन्न हुन ८ बर्ष र पाकिस्तानमा ५ बर्ष लागेको थियो, भारतको गुजारतसँग तुलना गर्दा हाम्रोमा पनि केही ढिलाई भएकै हो, तर स्रोत साधनको उपलव्धता र सरोकारवाला निकायबीच समन्वय भए तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुन्छ'  पोखरेलले भने।

९ महिनामा कति भयो काम?

पछिल्लो नौ महिनामा निजी आवास पुनर्निर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या १ लाख ८० हजार बढीले बृद्धि भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदन अनुसार पछिल्लो ९ महिनामा थप १ लाख ३० हजार २ सय ७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ भने थप ५० हजार २ सय १७ घर बनिसकेका छन्।

गत पौष मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११हजार ८ सय ७१ थियो। प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सवै लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि आगामी असार मसान्तसम्म सवै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

साथै विभिन्न निकायबाट प्राप्त भएका करिब २ लाख ५ हजार बढी गुनासोलाई पछ्यौट गरि ४० हजार ९ सय ६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको, पुनर्निर्माण तथा अनुदान बितरणसम्बन्धी बिगतका अव्यवहारिक प्रावधान र मापदण्डलाई व्यवहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनर्निर्माणले तुलनात्मक रुपमा गति लिएको प्राधिकरणको बिश्लेषण छ।

हालै सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घर समेत धितो राखेर ३ लाख रुपैया निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनर्निर्माणलाई थप गति दिने प्राधिकरणको अपेक्षा छ।

प्राधिकरणको पछिल्लो तथ्याकं अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन्। १ लाख ६ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको र करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ।

२४ सय ५६ शैक्षिक संस्था निर्माण सम्पन्न भएको छ। शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त ८ हजार ९ सय २३ शैक्षिक संस्थामध्ये अहिलेसम्म ४ हजार ३ सय ८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.