|

लोकजीवनमा सञ्चित र जीवित संस्कृतिक, सांगीतिक र संवेदनशील चेतनाको कडी नै लोकसाहित्य हो। ‘लोक’ र ‘साहित्य’ दुई शब्दको योगद्वारा ‘लोकसाहित्य’ शब्दको निर्माण भएको देखिन्छ। लोक भन्नाले मानवजीवनको समग्र समुदाय, संसार अथवा चराचर जगत हो भने साहित्य भनेको मानव जीवनको प्रतिविम्ब हो। अनादिकालदेखि मानव जीवनसंग सम्बन्धित संवेदनाको कडी नै लोकसाहित्य हो। यो लोकजीवनमा नै सञ्चित र जीवित रहेको हुन्छ। मानव जीवनका सुख, दुःख, हर्ष, रोदन, चाड, पर्व, रीति, संस्कृति जस्ता दैनिक कर्महरूसँग अन्योन्याश्रित रूपमा जोडिएका सांस्कृतिक र सांगीतिक सम्पदाहरू नै लोकसाहित्यका रूपहरू हुन्।

डा. मुकुन्द उप्रेतीका अनुसार, 'लोकसाहित्य लोक समूहद्धारा स्वीकृत व्यक्तिका मौखिक क्रमबाट पाइएको त्यो वाणी हो, जसमा लोकमानस संगृहीत हुन्छ।'

संस्कृतिविद् तुलसी दिवस भन्छन्, 'लोकसाहित्य सही अर्थमा लोकजीवन तथा संस्कृतिको प्रतिविम्बन मात्र हो।'

योगी नरहरिनाथका विचारमा, 'लोकहितका निम्ति लोकभाषामा लोक विचारलाई प्रवाहमय शैलीमा लोकले प्रस्तुत गर्ने साहित्यलाई नै लोकसाहित्य भनिन्छ।'

यस प्रकार लोकजीवनमा अनादिकालदेखि प्रचलित र पुस्तान्तरण हुँदै आएका जनजिब्रोका सांगीतिक, सांस्कृतिक र हृदयस्पर्शी मानव अभिव्यक्तिलाई नै लोकसाहित्य हो भन्न सकिन्छ। अनादिकालदेखि मौखिक रूपमा नै जीवित रहेको लोकसाहित्य कुनै व्यक्तिको निजी रचना होइन। यसले लोकजीवनको सामूहिक संस्कार, सामूहिक संवेदना र सामूहिक पहिचान बोकेर लोकजीवनलाई प्रतिविम्बित गरिरहेको हुन्छ।

अथाह सागर र विशाल भण्डारका रूपमा रहेको डोटेली लोकसाहित्यभित्र माँगल, फाग, धमारी, चैत, हुड्केली, भुवा, डेउडा, भारत, ढुस्को जस्ता विभिन्न प्राचीन र महत्त्वपूर्ण लोकविधाहरू प्रचलित छन्। यस्तो विशाल भण्डारका रूपमा रहेको डोटेली लोकसाहित्यको खोज, अनुसन्धान र संकलन–प्रकाशनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हुन सकेको भने देखिँदैन।

डोटेली लोकसाहित्य र यसमा भएका खोज अनुसन्धान

प्राचीन डोटी राज्यको भौगोलिक सिमाना विशाल रहे पनि आधुनिक डोटी नेपालका ७५ जिल्लामध्येको एक जिल्ला हो। तर साँस्कृतिक रूपमा सुदूरपश्चिमको समग्र संस्कृति र लोकसाहित्यलाई ‘डोटेली लोकसाहित्य’ भनिन्छ। डोटेली लोकसाहित्यलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ:

डोटेली लोकसाहित्यका विभिन्न विधाहरू    

१. लोकगीत सगुन, मांगल, डेउडा

२. लोगाथा चैत, धमारी भोलाउलो भारत

३. लोककथा बातै

४. लोकनाटक हुड्केली, छलिया

५. उखान–टुक्का

६. पहेली झिट्टाहरू

७. अन्य लोकमन्त्र

सुदूरपश्चिमका विभिन्न जिल्ला र समुदायमा रहेको लोकसाहित्यलाई समग्रमा 'डोटेली लोकसाहित्य' भनिन्छ। डोटेली लोकसाहित्य नेपाली साहित्य र संस्कृतिकै उद्गम स्रोत मानिन्छ। लोसाहित्यका विभिन्न अध्येता तथा विद्वान्हरूले विभिन्न जिल्ला, क्षेत्र र समुदायमा प्रचलित लोकसाहित्यमध्ये 'डोटेली लोकसाहित्य'लाई नै विशाल भण्डार तथा मानव सभ्यता र संस्कृतिको अथाह सागरको उपमा दिएका छन्।

लोकजीवनमा रहेको लोकसाहित्यको खोज अनुन्धान र प्रकाशन भएन भने एकातिर लोकसाहित्य सीमित समुदाय र क्षेत्रभित्र सीमित भएर जान्छ, अरू आम जनसमुदायले पढ्न र आस्वादन गर्न पाउँदैनन् भने अर्कोतिर अत्याधुनिकीकरण हुँदै गएको आजको पुस्ता र भोलिको पुस्ताका लागि त्यो विस्मृतिको गर्भमा विलाएर जान सक्ने संभावना रहन्छ। त्यसैले पनि लोकजीवनमा प्रचलित लोकसाहित्यको खोज, अनुसन्धान र प्रकाशन हुनु आवश्यक देखिन्छ।

अथाह सागर र विशाल भण्डारका रूपमा रहेको डोटेली लोकसाहित्यभित्र माँगल, फाग, धमारी, चैत, हुड्केली, भुवा, डेउडा, भारत, ढुस्को जस्ता विभिन्न प्राचीन र महत्त्वपूर्ण लोकविधाहरू प्रचलित छन्। यस्तो विशाल भण्डारका रूपमा रहेको डोटेली लोकसाहित्यको खोज, अनुसन्धान र संकलन–प्रकाशनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हुन सकेको भने देखिँदैन।

डोटेली लोकसाहित्यको विशाल भण्डारको खोज, अनुसन्धान, संकलन र प्रकाशनको पहिलो औपचारिक र आधिकारिक दियो बाल्ने कार्य स्व. देवकान्त पन्तले गरेका हुन्। ०३२ सालमा एसियाली प्रकाशनद्वारा प्रकाशित उनको 'डोटेली लोकसाहित्य एक अध्ययन' नामक कृति प्रकाशन भएपछि नै डोटेली लोकसाहित्यको विशाल फाँटलाई आवादी गर्न लोकसाहित्यप्रेमीहरू उद्यत भएका देखिन्छन्। यद्यपि, नाटककार पहलमानसिंह स्वाँरको यसअघि नै लेखिएको र ०३२ मा प्रकाशन भएको 'अछामका चाड पर्व' नामक कृतिले सुदूरपश्चिमको लोकजीवन, लोकसंस्कृति र साहित्यको पहिलो झल्को भने दिएको थियो।

देवकान्त पन्तको 'डोटेली लोकसाहित्य एक अध्ययन' प्रकाशन भएपछि भने प्रसिद्ध लोसाहित्यकर्मीदेखि सुदूरपश्चिमकै नवअनुसन्धाताहरू यस क्षेत्रमा लागिपरेका देखिन्छन्। प्रसिद्ध साहित्यकार पूर्णप्रकाश नेपाल 'यात्री'ले सुदूरपश्चिमका सबै जिल्लाको भ्रमण गरी प्रत्यक्ष डोटेली लोकसाहित्यको अवलोकन गरेर ०३४ सालमा हिमाली सौगात प्रकाशन विराटनगरद्वारा 'सेतीको नालीबेली', 'सेतीका तारा' र 'महाकाली अञ्चल दिग्दर्शन' जस्ता तीनवटा महत्त्वपूर्ण ग्रन्थ प्रकाशन गरे भने अर्का प्रसिद्ध लोकसाहित्यकार विजय चालिसेले ०३९ सालमा साझा प्रकाशनद्वारा 'डोटेली लोकसंस्कृति र साहित्य' नामक अत्यन्त महत्त्वपूर्ण र अनुसन्धानमूलक कृति प्रकाशन गरे।

यसैगरी यस क्षेत्रको लोकसाहित्यको खोज, अनुसन्धान, संकलन र प्रकाशनमा साधनारत र क्रियाशील व्यक्तिहरू स्व. डा. जयराज पन्त, पद्मराज जोशी, मानबहादुर सिंह पहाडी, वासुदेव भाइसाब, पदमराज जोशी, ‘भारद्धाज’ मोहनमान स्वाँर, तेजप्रकाश श्रेष्ठ, रतन भण्डारी, यज्ञराज पनेरु, यज्ञराज उपाध्याय, नन्दकृष्ण जोशी, परिमल स्नेही, नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, अन्तराम विष्ट, डिक्रादेवी गाइने, दीपेन्द्र दहाल, भुवन दहाल, नरबहादुर भण्डारी, चाँदनी मल्ल, शकरसिंह विष्ट, सुरत रावत जस्ता अनुसन्धाता र गायक, गायिकाहरूले लोकसाहित्यका विविध विधाको खोज, अनुसन्धान गरी पाठ्य, श्रव्य र दृश्य कृतिहरू प्रकाशन गरेका छन्।

  • डोटेली लोकसाहित्य एक अध्ययन

यो लोकसाहित्यको खोज, अनुसन्धान र संकलनसम्बन्धी सुदूरपश्चिमको पहिलो आधिकारिक र प्रमाणित कृति हो। सुदूरपश्चिमका फाग, माँगल, धमारी, हुड्केली, भुवा, चैत, डेउडा जस्ता लोकसाहित्य पहिलो पटक अध्ययन, अनुसन्धान गरी वि.सं. २०३२ मा प्रकाशित यस कृतिका लेखक देवकान्त पन्त हुन् भने एसियाली अध्ययन प्रतिष्ठानद्वारा यसको प्रकाशन भएको हो। त्रिभुवन विश्वविद्यालय नेपाली विभागद्वारा लोकसाहित्यको अध्ययनसम्बन्धी सन्दर्भ पुस्तकका रूपमा समेत यसलाई राखिएको छ। यो साझा प्रकाशनबाट सुदूरपश्चिमको पहिलो लोकसाहित्य पुरस्कार प्राप्त कृति हो।

  • सेतीको नालीबेली, सेतीका तारा र महाकाली अञ्चल दिग्दर्शन

यी तीनवटै कृतिहरू प्रसिद्ध साहित्यकार पूर्णप्रकाश नेपालका यात्रावृत्तान्तमा लेखिएका डोटेली लोकसाहित्यसम्बन्धी कृति हुन्। वि.सं. २०३४ मा हिमाली सौगात प्रकाशन विराटनगरद्वारा प्रकाशित यी कृतिहरूमा सुदूरपश्चिमको भूगोल, संस्कृति, लोकसाहित्य, साहित्यकार, भाषा, रहनसहन र वेशभूषासम्बन्धी खोज, अनुसन्धान गरी लेखिएको छ।

  • डोटेली लोकसंस्कृति र साहित्य

साहित्यकार विजय चालिसेद्वारा लिखित यो कृति लोकसाहित्यको खोज, अनुन्साधनात्मक कृति हो। डोटेली लोकसाहित्य र संस्कृतिको संक्षिप्त चर्चा गरिएको यस कृतिको प्रकाशन साझा प्रकाशनद्वारा ०३९ सालमा गरिएको देखिन्छ।

  • अंजुलीभरि सगुनः पोल्टाभरि फाग

डोटेली लोकसाहित्यमै विद्यावारिधि गरेका डा. जयराज पन्तद्वारा लेखिएको यो कृति डोटेली लोकसाहित्यका विविध विधाका गीत, फाग, माँगल, धमारी, चैत, हुड्केली, डेउडासम्बन्धी गीतहरूको संकलन र लोकसंस्कृतिको खोज गरिएको विशाल ग्रन्थ हो। वि.सं. २०५५ मा नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौँद्वारा प्रकाशित यो ग्रन्थ डोटेली लोकसाहित्यको अमूल्य रत्न हो।

डोटेली पार्विक फागहरूको अध्ययनमा विद्यावारिधि गरेका स्व. डा. जयराज पन्तको यस क्षेत्रमा अविष्मरणीय योगदान छ। डोटेली लोकसाहित्यको महत्त्वपूर्ण ग्रन्थ मानिने 'अंजुलीभरि सगुन: पोल्टाभरि फाग'का अलावा स्वर्गीय पन्तका निम्मानुसार अन्य महत्त्वपूर्ण ग्रन्थ प्रकाशित छन्।

५. शैलेश्वरी महात्म्य र तिनका केही गीतहरू

६. डोटेली धमारी गीत : एक अध्ययन

७. मष्टा परम्परा र त्यसका गीतहरू

८. डेउडा

९. डोटेली गौरा पर्वका गीत र गाथाहरू

१०. डोटेली भो पर्वका गीत र गाथाहरू

  • गौरा पर्व : एक परिचय

साहित्यकार पदमराज जोशी 'प्रभात'द्वारा लेखिएको यस कृतिको प्रकाशक सुदूरपश्चिमाञ्चल संस्कृति सम्बर्द्धन समिति तथा प्रशंसा संरक्षण समूह काठमाडौँ रहेका छन्। वि.सं. २०५८ भदौमा प्रकाशित यो कृति सुदूरपश्चिमको एक महत्त्वपूर्ण गौरा पर्वको महत्त्व, महिमा ऐतिहासिक तथा साँस्कृतिक सन्दर्भमा लेखिएको कृति हो। साझा प्रकाशनले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोकसाहित्य पुरस्कार प्राप्त गर्ने सुदूरपश्चिमको दोस्रो कृति हो याे।

  • डोट्याल लोकसाहित्य र लोकसंस्कृति

डोट्याली लोकसाहित्यका विविध विधामा कलम चलाउँदै आएका वासुदेव भाइसाबले डोट्याली लोकसाहित्यका विविध पाटाहरूको अध्ययन गरी ०६१ सालमा कर्णाली बुक डिपो महेन्द्रनगरबाट यस कृतिलाई प्रकाशनमा ल्याएका हुन्।

  • सुदूरपश्चिममा डोटी प्रदेशका लोकगाथा र अवलोकन

यो कृति पनि वासुदेव भाइसाबको नै हो। सुदूरपश्चिमको लोकजीवनमा प्रचलित लोकगाथाहरूको संकलन र अवलोकन गरी प्रकाशन गरिएको यो कृति डोट्याल लोकसाहित्यको महत्त्वपूर्ण ग्रन्थ हो।

  • डोट्याली कोश

वासुदेव भाइसाबद्वारा अनुसन्धान गरी प्रकाशन गरिएको यो कृति लोकजीवनमा प्रचलित उक्ति अथवा परम्परित भनाइहरूलाई संकलन गरी ०५१ सालमा लेखक स्वयंले प्रकाशन गरेको अर्को एक महत्त्वपूर्ण अनुसन्धानात्मक कृति हो।

यसैगरी विभिन्न अनुसन्धाताहरूले अनुसन्धान गरी प्रकाशित गरेका कृतिहरू यसप्रकार छन्।

१५. मानबहादुर सिंह पहाडी–  डयौडात्मक गीतसंग्रह, २०६४, सुर्मा समाज धनगढी

१६. ...  – नेपाल एकीकरण गर्दाको गाथा र गोर्खे चैत्र, २०४१

१७. ...  – लोकसंस्कृति र लोकगीत संग्रह सेती महाकाली, २०६४

१८. ... – पहाडी गीतसंग्रह र हटेरुको सवाई, २०४१

१९. ... – होरी खेलौँ (होरी गीतसंग्रह), २०६५

२०. ... – फाग लहरी थली (माँगल र फाग गीतको संग्रह), २०४१

२१. ...– लोकगीत काव्यसंग्रह,  २०६४

२२. ... – सुदूरपश्चिम लोकसाहित्य र संस्कृति, २०६४

२३. नरेन्द्रराज रेग्मी – ऐना आफैँ बोल्छ, २०७२

२४. पदमराज  जोशी – कालो पातल, २०६७

२५. तेजप्रकाश श्रेष्ठ – अछामी लोकसाहित्य, २०६८

२६. मोहनमान स्वाँर – अछाममा डेउडा, २०५८ (सावित्री स्वाँर)

२७. काशीराम ढुंगाना – कुर्ले ढुकुर सुदूरपश्चिमाञ्चल डेउडा गीतसंग्रह, २०६२

२८. रतन भण्डारी – बझाङ डोटीतिर प्रचालित उखान टुक्काहरू, २०६९

२९. यज्ञराज पनेरु – डडेल्धुरामा गौरा पूजा र अठवाली, २०७१

३०. तुलसीप्रसाद पण्डित – चाडपर्व र लोकसाहित्य, २०६३

३१. चेतराज जोशी – डोट्याली लोकसंस्कृति एक झलक २०६७

३२. जहरासिंह थापा – बडिमालिका २०७२

  • डोटेली लोकसाहित्यमा विद्यावारिधि

डोटेली लोकसाहित्यका विभिन्न विधामा खोज, अनुसन्धानमा लागेका व्यक्तिहरूद्वारा विद्यावारिधि गरिसकिएका छन्। यस क्रममा सर्वप्रथम डा. जयराज पन्तले लोकसाहित्यका दुई छुट्टाछुट्टै विषयमा भारत र नेपालबाट डबल पीएचडी गरिसकेका छन्। स्व. पन्तले पहिलो पटक 'कुमाउनी र डोटेली गीतको तुलनात्मक अध्ययन' शीर्षकमा भारतबाट र ‘डोटेली पार्विक फागहरूको अध्ययन’ शीर्षकमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट २०६५ मा विद्यावारिधि गरेका हुन्।

त्यसैगरी बद्री शर्मा विनाडीले ‘डोटेली चैतको संकलन र विश्लेषण’ शीर्षकमा ०६४ मा त्रिविबाट विद्यावारिधि गरेका छन्। टी.एन. जोशी ‘किशोर’ले ‘गौरा पर्वको पौराणिक अध्ययन’ र देवेन्द्रप्रसाद भट्ट ‘दीप्त’ले ‘अछामी होरी गीतहरूको पौराणिक अध्ययन’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

धर्मराज उपाध्यायले ‘बझाङी डेउडा गीतको अध्यय’ शीर्षकमा कुमाउ विश्वविद्यालय भारतबाट विद्यावारिधि गरेका छन् भने विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर तहमा डोटेली लोकसाहित्यका विविध विधामा धेरै शोधहरू भइसकेका छन्।

  • फुटकर लेख र पत्रपत्रिकाहरू

डोटेली लोकसाहित्यको गहिरो खोज, अनुसन्धान र प्रकाशन हुन अझै बाँकी नै देखिन्छ। जे जति अनुसन्धान भएका छन्, ती न्यून मात्रामा भएका छन्। सुदूरपश्चिमका विभिन्न  जिल्ला, स्थान, गर्खा र समुदायमा रहेका लोकसाहित्यका विभिन्न विधाको अध्ययन, अनुसन्धान, खोज र प्रकाशनमा लागेका व्यक्तिहरूमा वासुदेव पाण्डेय, राजेन्द्रसिंह रावल, भानदेव बडु, आत्माराम भट्ट, गोविन्द पनेरु, स्थिर जंगबहादुर सिंह, परमानन्द भट्ट, एकराज भट्ट, गोविन्द पाण्डेय, टेकराज भट्ट, गजेन्द्रबहादुर सिंह, भुवनेश्वर पनेरु, नेत्रप्रसाद पनेरु, श्रीकृष्ण पन्त, दिव्यश्वरी जोशी, होमनाथ जोशी, फणीन्द्र रेग्मी, लक्ष्मी ओझा, वेदप्रसाद जोशी, डिल्लीराज फुलारा, जगन्नाथ जोशी, कृष्णदत्त चटौत आदि रहेका छन्।

त्यस्तै, डोटेली लोकसाहित्यका विभिन्न विधाका लेखरचना निरन्तर प्रकाशन गर्ने पत्रपत्रिकाहरूमा सुदूरपश्चिम सरोकार मंचद्वारा प्रकाशित ‘सुदूरपश्चिमाञ्चल’, डोटेली समाज काठमाडौँद्वारा प्रकाशित ‘देवाटवी’, वैद्यनाथ विकास क्षेत्रद्वारा प्रकाशित ‘वैद्यनाथ’, नेपाल सांस्कृतिक वाङ्मय प्रतिष्ठाद्वारा प्रकाशित ‘लोकायन', कैलाली जनपुस्तकालयद्वारा प्रकाशित ‘मालिका’, सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा प्रकाशित ‘सुरभि’, महाकाली साहित्य संगमद्वारा प्रकाशित ‘साहित्य संगम’, वीरबहादुर चन्दद्वारा प्रकाशित ‘गुगुल्डी’, एन.के. जोशीद्वारा प्रकाशित ‘सुदूर चिनारी’, कैलाली क्याम्पसद्वारा प्रकाशित ‘सेतीको सुसेली’, सुदूरपश्चिमाञ्चल क्याम्पसद्वारा प्रकाशित 'फूलबारी' आदि रहेका छन्।

सन्दर्भ-ग्रन्थ

१. डोटेली लोकसाहित्य : एक अध्ययन – एसियाली अध्ययन संस्थान काठमाडौं, २०३२

२. सेतीको नालीबेली, सेतीका तारा र महाकाली अञ्चल दिग्दर्शन – हिमाली सौगात प्रकाशन,

   विराटनगर, २०३४

४. अंजुलीभरि सगुनः पोल्टाभरि फाग – नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौँ, २०५५

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.