|

काठमाडौं : नागरिकता नभएकाहरुको कथाका आधारित फोटो प्रदर्शनी 'नागरिक तर?' बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा सुरु भएको छ। उक्त फोटो प्रदर्शनीमा नागरिकताबाट वञ्चित नेपालीहरूको व्यथा समेटिएको छ। 

फोटो प्रदर्शनीमा विविध कारणले कारणले नागरिकताबाट वञ्चित हुँदै आएका नेपालीहरुको कथा फोटोमा समेटिएको प्रदर्शनीको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरेका हुन्। 

प्रदर्शनीको उद्घाटन गदै अध्यक्ष शर्माले निर्वाचन नजिकिँदै गर्दा मत माग्न घर, घर पुग्ने उम्मेदवारलाई नागरिकता सम्वन्धी ऐन बनाउन दबाव दिन सुझाव दिए। उनले नीति बनाउनेहरूलाई झक्झक्याउन प्रदर्शनीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। कानुनमा लेखिएका कुरालाई कर्मचारीहरुले फरक ढंगले व्याख्या गरिदिदा कतिपय कानुनहरु कार्यान्वयनमा समस्या उत्पन्न भएको उनले बताए।

शर्माले नागरिकताका समबन्धमा न्यायालयहरूबाट भएका केही फैसलाहरूको सारसंक्षेप तथा प्रतिपादित नजिर समेटेर तयार पारिएको पुस्तकको लोकार्पण समेत गरेका थिए।

महिला कानुन विकास मञ्चले आयोजना गरेको कार्यक्रममा मञ्चीकी अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले नागरिकता सम्बन्धमा न्यायालयहरूबाट भएका फैसलालाई अन्य कर्मचारीले नजिरका रूपमा लागु नगर्ने अवस्थाका कारण पनि कयौं नेपाली नागरिकता विहिन हुनुपरेको बताइन्। जसका कारण उनीहरु नागरिकले प्राप्त गर्ने अधिकारको सदुपयोग गर्नबाट वञ्चित भएको उनको भनाइ थियो।  मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपाली नागरिकता लिनका लागि जस्तोसुकै परिस्थती आइपरेपनि रगत–पसिना बगाएर जन्म दिएर हुर्काउने आमाको भन्दा पिताको बढि खोजी र चासो लिने पितृसत्तात्मक सोच र नियमका कारण लाखौं नेपालीका आमा र उनका बालबालिका पीडित भइरहेको बताए।

बुधबारसम्म हुने फोटो प्रदर्शनीका विषय नागरिकता लिन सङ्घर्ष गरिरहेका महिला र तिनका युवा अवस्थाका छोराछोरीहरू रहेका छन्। उनीहरूले नागरिकता लिन नपाउँदा उच्च शिक्षा हासिल गर्नमा समस्या, व्यापार व्यवसाय गर्नका लागि बैंकबाट सहुलियत दरमा ऋण नपाएर चर्को व्याज तिरेर काम गरिरहेका, जन्मदर्ता नहुँदा स्कुलबाटै निस्कासित भएका, मोवाइलको सीम लिन, छात्रवृत्ति पाउन,वैदेशिक रोजगारीमा जान, नेपाल सरकारको सेवामा जागिर गर्न नपाएकोलगायत समस्या नागरिकताविहीन नेपालीहरूले भोग्नुपरेको सम्पूर्ण दृष्टान्त उल्लेख गरिएका छन्।

प्रदर्शनीमा विभिन्न पिडितहरुका ५५ फोटो समावेश रहेको मञ्चकी पविता अधिकारीले जानकारी दिइन।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.